सर्वोच्च अदालतले सर्वोच्चलाई नै आदेश दिएपछि... - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

सर्वोच्च अदालतले सर्वोच्चलाई नै आदेश दिएपछि…



काठमाडौं- सर्वोच्च अदालतले सर्वोच्च अदालतलाई नै आदेश दिएको अनौठो घटना बहेको छ । अदालतमा चलिरहेको संवैधानिक परिषद्सम्बन्धी संवैधानिक इजलासमा जारी बहस रोक्न अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतकै इतिहासमा पहिलो पटक भएको आदेशमा अधिवक्ता डा. गणेश रेग्मीले दायर गरेको रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश हरि फुयाँलको एकल इजलासले संवैधानिक इजलासमा जारी बहस रोक्न अन्तरिम आदेश दिएको हो ।

न्यायाधीश फुयाँलको एकल इजलासको आदेशमा भनिएको छ, “प्रस्तुत विषयहरू यस निवेदनको प्रयोजनको निमित्त महत्वपूर्ण भएको र उक्त विषयहरूको निर्क्योल गरेर मात्र निवेदकले निवेदनमा उठाएका हाल संवैधानिक इजलासमा चलिरहेको संविधानको धारा २८४ बमोजिम संवैधानिक परिषद्मा सदस्य रहने प्रधानन्यायाधीश समेत संलग्न भई संवैधानिक निकायको नियुक्तिसँग सम्बन्धित प्रधानन्यायाधीश उक्त इजलासमा बस्ने वा नबस्ने भन्ने विषय समेतलाई टुंगो गरी संवैधानिक इजलासका सम्बन्धित मुद्दाहरू निर्णय गर्नुपर्ने देखिँदा प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म उक्त मुद्दाहरूको सुनुवाइ नगर्नू÷नगराउनू भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (क) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ ।”

न्यायाधीश फुयाँलको इजलासले रेग्मीको रिटले उठाएका प्रश्न राष्ट्रिय महत्वका भएको भन्दै चारजनाको एमिकस क्युरी गठनको पनि आदेश दिएको छ ।

“प्रस्तुत विषय राष्ट्रिय महत्वको देखिँदा लिखित जवाफ परेको तेस्रो दिनमा पेसी चढाई संवैधानिक विषय र महत्व समेतलाई मध्यनजर गरी सर्वोच्च अदालत बार एसोसिएसनबाट दुईजना र नेपाल बार एसोसिएसनबाट दुईजना वरिष्ठ अधिवक्ताहरूलाई अदालतको सहयोगीको रूपमा उपस्थित गराइदिन अनुरोध गरी यसै विषयसँग सम्बन्धित रिट निवेदन ०७८–धय–०२६९ नं. को रिट निवेदन समेत साथै राखी पेस गर्नुहोला,” आदेशमा भनिएको छ ।