सर्वेन्द्र खनालमाथि संकट: पूर्वकप्तान सागर थापाले मुद्धा दायर गर्ने - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

सर्वेन्द्र खनालमाथि संकट: पूर्वकप्तान सागर थापाले मुद्धा दायर गर्ने



काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापाले पूर्व आइजीपी सर्वेन्द्र खनालविरुद्ध मुद्धा दायर गर्ने भएका छन् । आफुहरु बिरुद्ध षड्यन्त्र गरी भविष्य बर्बाद गरेको आरोपमा उनि अदालत जाने भएका हुन् ।

पूर्व प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाल र अखिल नेपाल फुटबल संघ (एन्फा) का तत्कालीन पदाधिकारीहरुले आफ्नो खेलजीवनको अमूल्य समय बर्बाद पारेको उनको आरोप छ । सर्वेन्द्र खनाल र एन्फाका तत्कालीन पदाधिकारीहरुले खेल मिलेमतोको आरोपमा राज्यविरुद्धको अपराधको मुद्धा चलाइएला थिए।

सागर थापाले एक अन्तर्वार्तामा भनेका छन्, ‘हामीलाई नियोजित रुपमै फसाएर मुद्दा चलाइएको हो । आगामी दिनमा खनाल सहित षड्यन्त्र गर्ने सबै बिरुद्ध मुद्धा दायर गर्ने छौं ।’

एन्फा र एएफसीका तत्कालीन पदाधिकारीहरु बीचको मनमुटावको शिकार आफूहरु भएको बताउँदै थापाले न्यायका लागि अदालत गुहार्ने जनाएका हुन् ।

व्यक्तिगत स्वार्थ प्राप्तिका लागि आफूहरुको जीवनमाथि खेलवाड गरिएको भन्दै उनले चलखेल गर्नेविरुद्ध न्यायोचित कदम चाल्ने स्पष्ट पारेका छन् । चलखेलमा पूर्व प्रहरी महानिरीक्षक पनि संलग्न रहेको उनको ठम्याई छ ।

खेल मिलेमतोको आरोपमा राज्यविरुद्धको अपराधको मुद्धा चलाइएका थापालगायत तत्कालीन उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, विकास सिंह क्षेत्री, पूर्वखेलाडी अन्जन केसी र डेबिड थापाले झन्डै ५ वर्षपछि सर्वोच्चबाट केही साताअघि मात्र सफाई पाएका थिए । सफाइ पाएता पनि सागरले आफ्नो खेल जीवनको अमूल्य समय गुमाएकोमा गुनासो व्यक्त गरेका छन् ।

अन्तर्राष्ट्रिय खेलमा पैसा लिएर जानाजान हारेको आराेप लगाउँदै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुले प्रहरीसामू फिक्सिङ स्वीकार गरे पनि अदालतमा इन्कारी बयान दिएका थिए । उनीहरुले खेल मिलेमतो गर्दा प्रति खेल ५ हजार डलर लिने गरको प्रहरीको दावी थियो ।