सार्वजनिक यातायात संचालन गर्ने सरकारको तयारी
काठमाडौं- सरकारले सार्वजनिक यातायात संचालनको तयारी गरेको छ । विश्वव्यापी कोरोनाको महामारीसँगै ठप्प रहेका सबै गतिविधि लामो समयदेखि शून्य अवस्थामै रहेका बेला सरकारले यस्तो तयारी गरेको हो ।
विस्तारै ‘लकडाउन’ खुकुलो परते र कोरोना संक्रमणको अवस्था हेरेर सार्वजनिक यातायात सञ्चालनको तयारी गरिएको बताइएको छ ।
लामो समय लकडाउन कायम राख्दा सर्वत्र विरोध भएपछि सरकारले संक्रमणको अवस्था हेरेर आंशिकरुपमा सार्वजनिक यातायात सुचारु गर्ने तयारी गरेको हो ।
लगातारको लकडाउनका कारण आममानिसको दैनिकी खलबलिएकोमात्र छैन, आर्थिक गतिविधिहरु सञ्चालन नहुँदा समग्र अर्थतन्त्र नै प्रभावित बनेको छ ।
विस्तारै लकडाउन खुकुलो बनाएर अर्थतन्त्र चलायमान र सर्वसाधारणको दैनिकी सहज बनाउन सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको तयारी छ ।
सामाजिक दूरी कायम गरेर सिट क्षमताभन्दा कम यात्रु राखेर सवारी–साधन सञ्चालन गर्ने निर्देशिका जारी गर्न लागेको यातायात व्यवस्था विभागले जनाएको छ ।
लकडाउन आंशिकरुपमा खुकुलो भएपनि कोरोना संक्रमणको दर बढिरहेकाले यातायात व्यवसायी पनि सरकारले निर्णय गरेपनि तत्कालै व्यवसाय सञ्चालन गर्ने मुडमा छैनन् ।
उनीहरुले सरकारले तोकेको मापदण्डमा सार्वजनिक सवारी–साधन चलाउन नसकिने बताउँदै आएका छन् ।
सामाजिक दूरी कायम गर्ने र स्वास्थ्य सावधानी अपनाएर छोटो दूरीका सवारी–साधन सञ्चालन गर्न नसकिने यातायात व्यवसायीको भनाइ छ ।
लकडाउनका कारण लामो समय ग्यारेजमा थन्किएका सवारी–साधन मर्मतमै धेरै पैसा खर्च गर्नुपर्ने भन्दै व्यवसायीले सरकारले सहुलियत नदिए तत्कालै सार्वजनिक सवारी सञ्चालन गर्ने सम्भावना नरहेको जनाएका छन् ।
सरकारले सवारी–साधन सञ्चालनका लागि दबाब दिने बुझेसँगै व्यवसायीहरु विभिन्न माग राख्न थालेका छन् ।
यथास्थितिमा सार्वजनिक यातायात सञ्चान गर्दा कोरोनाको संक्रमण थप बढ्ने हो कि भन्ने चिन्ता भएपनि व्यवसायीहरुले भने आर्थिक छुटका प्याकेज ल्याएमात्र गाडी गुडाउने भन्दै ‘बार्गेनिङ’ गरिरहेका छन् ।