सभामुख सापकोटाले गरे संसद बैठक बोलाउने संकेत - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

सभामुख सापकोटाले गरे संसद बैठक बोलाउने संकेत



काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक बोलाउने संकेत गरेका छन् । सापकोटाले संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनसम्बन्धी अधिकार नदिएको भन्दै यस्तो संकेत गरेका हुन्।

बिहीबार प्रतिनिधि सभा विघटनविरुद्ध ध्यानाकर्षण गराउन आएका बिभिन्न महिला संघका प्रतिनिधिहरुसँगको भेटमा सापकोटाले अदालतमा विचाराधीन रहेको मुद्दामा आफ्नो जवाफ पठाउने तयारी भएको बताएका छन् ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेका थिए ।

‘अहिले संविधानले प्रधानमन्त्रीलाई यहि परिस्थितिमा प्रतिनिधि सभा विघटन गर्ने अधिकार दिएको छैन । मैले यसअघि पुस ८ गते वक्तव्यमार्फत आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको छु,’ उनले भने, ‘अदालतमा पनि मैले यहिअनुसारको उत्तर दिँदैछु ।’

त्यसैगरी उनले अहिले सभामुखको जिम्मेवारीको हिसाबले संविधानको रक्षा र समग्र परिस्थितिमा देश र जनताको अधिकतम हितका पक्षमा आफूले कसरी भूमिका खेल्नुपर्छ भनी सबै सम्बद्ध पक्षसँग वृहत् र व्यापक परामर्श गरिरहेको बताए ।

संघीय संसद प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने महिला सांसद र विभिन्न चारवटा महिला संघ संगठनले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम खारेज गर्न माग गर्दै सभामुखलाई ध्यानाकर्षण गराएका थिए ।

अखिल नेपाल महिला संघ (अनेमसंघ) की संयोजक अमृता थापा, समाजवादी महिला संघ नेपालकी अध्यक्ष निर्मला यादव, अखिल नेपाल महिला संघकी अध्यक्ष मीना पुन र विवेककशील–साझा महिला संघकी अध्यक्ष समीक्ष बाँस्कोटाले सो ध्यानाकर्षणपत्र बुझाएका थिए।