अग्नि सापकोटालाई एमालेले सभामुख नमान्ने
काठमाडौँ- नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिका गैरकानुनी भएको बताएको छ । सापकोटाले एमाले सिध्याउन लागेको भन्दै उनलाई सभामुख पनि नमान्ने बताएको छ ।
एमालेले सभामुख सापकोटाको भूमिकालाई लिएर तीब्र आपत्ति जनाएको छ । सभामुख सापकोटाले पदीय गरिमा र निष्पक्षता कायम गर्न नसकेको तथा एमाले विरोधीको रुपमा आफूलाई प्रस्तुत गरेको एमाले अध्यक्ष केपी ओलीले आरोप लगाए ।
संसद् भवन नयाँ बानेश्वरमा बुधवार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सापकोटाले सभामुख पदको मर्यादाको खिल्ली उडाउने काम गरेको आरोप लगाएका हुन् ।
‘सभामुखको सम्माननीय पदको मर्यादाको खिल्ली उडाउने काम भएको छ, पार्टी विशेषको कार्यकर्ता र प्रमुख प्रतिपक्षी दलको विरोधीको रुपमा उहाँले आफूलाई उभ्याउनु भयो । यस्तो अमर्यादित काम गर्ने मान्छे सभामुख हुन सक्दैन । यस्तोलाई सभामुख मानेर सदनमा टुलुटुलु कसरी हेर्ने ? जब हामीलाई सिध्याउन खोजेको छ भने निष्पक्षता विश्वास गर्छौं ?,’ ओलीले भने ।
माधव नेपाल लगायत १४ सांसद माथि गरिएको कारवाही सदर नगरेसम्म संसद् चल्न नदिने उनले बताए ।
‘सभामुखको भूमिका एमाले विरोधी देखियो, संसदीय प्रचलन विरोधी सभामुखको निष्पक्षता रहेन, निष्पक्ष रहनु पर्ने भूमिका रहेन । गठबन्धन पक्षधर र एमाले विरोधी भूमिकामा रहेकालाई कसरी सभामुख मान्ने ?’ ओलीले प्रश्न गरे ।
सभामुख सापकोटाको भूमिकाप्रति प्रश्न उठाउँदै एमाले सांसदहरूले सदनमा सशक्त प्रतिवाद गर्नुपर्ने बताएका थिए ।