सपथ नलिँदै राष्ट्रपति र देउवाबीच तनाव: गल्ती सच्चाउन राष्ट्रपति तयार
काठमाडौं- सपथ ग्रहण नगर्दै राष्ट्रपति विद्यादेवी भण्डारी र शेरबहादुर देउवाबीच लफडाको अवस्था देखिएको छ । राष्ट्रपति भण्डारीले शब्दमा जालझेल गरेको भन्दै देउवा नियुक्ति प्रक्रिया नसच्चाए सपथ नलिने अडान लिएर बसेपछि राष्ट्रपति कार्यालय नियुक्ति पत्र सच्चाउन तयार भएको छ ।
देउवालाई प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्तिमा संविधानको धारा उल्लेख नगरेकोप्रति शेरबहादुर देउवाले आपत्ति जनाएका छन्।
राष्ट्रपति कार्यालयले विज्ञप्ति नसच्याए सम्म सपथ नलिने अडान राखेपछि ६ बजेका लागि तोकिएको सपथ ग्रहण कार्यक्रम अहिले सम्म सुरु हुन सकेको छैन। देउवाले मुख्यसचिव शंकरदास वैरागीलाई आफ्नै निवास बोलाएर प्रधानमन्त्री नियुक्तीको विज्ञप्ति नसच्चिएसम्म सपथ ग्रहण नगर्ने बताएका छन्।
देउवाले आफू संविधानको धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने भन्दै असहमति जनाएका हुन्। देउवाको अडान पछि राष्ट्रपति कार्यालय विज्ञप्ति सच्याउन तयार भएको बुझिएको छ।
राष्ट्रपति कार्यालयबाट विज्ञप्ति सच्चिएको खबर आएपछि देउवा सपथ लिन शीतल निवास पुगेकाे उनको सचिवालयले जानकारी दिएको छ। देउवा सर्वाेच्चकाे परमादेश अनुसार प्रधानमन्त्री नियुक्त्त भएका हुन्।