डाक्टर बन्ने प्रज्वलको सपना बमले उडाईदियो - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

डाक्टर बन्ने प्रज्वलको सपना बमले उडाईदियो



काठमाडौं -आइतबार साँझ ५ बजेतिर सत्य थापा काठमाडौं मलको क्याफेमा कफी पिइरहेका थिए ।

मोबाइलमा नेक्रवित्रम चन्दनिकट एक व्यक्तिको फोन आयो, ‘प्रज्वल पनि बम विस्फोटमा पर्‍यो जस्तो छ । घाइतेहरूलाई अस्पताल पुर्‍याइएको छ रे । उसलाई ओम अस्पतालमा लगिएको छ रे, गएर स्थिति बुझिदिनुपर्‍यो ।’

यति भनेर फोन काटियो । लगत्तै सत्यले प्रज्वलको मोबाइलमा फोन गरे । बारम्बार गर्दा पनि फोन नउठेपछि उनी ओम अस्पतालतर्फ दौडिए । ‘ओम अस्पतालदेखि वीर ट्रमा सबैतिर गएँ, कतै भेटिनँ उसलाई । टिचिङमा एउटा क्षतविक्षत शव ल्याएको भन्ने सुनियो, फेरि उतै दौडिएँ,’उनले सुनाए ।

त्यो क्षतविक्षत शव प्रज्वलको हो भनेर निश्चित हुन उनले सोमबार बिहानसम्म कुर्नुपर्‍यो । नाकदेखि माथिको भाग नभएको, हातखुट्टा नभएको र घाँटी छिनिन लागेजस्तो अवस्थामा उनले प्रज्वललाई भेटाएका थिए ।

उनले भने, ‘उसको गोरो अनुहार, जीउडाल र कपडा देखेरै चिनें । अरू हेर्न सकिनँ ।’ प्रज्वल शाही उनै हुन् जसले आइतबार साँझको बम विस्फोटमा ज्यान गुमाए र सत्य उनका सबैभन्दा नजिकका मित्र हुन् । यो खबर आजको कान्तिपुर दैनिकमा फातिमा बानुले लेखेकी छन्।

उनका अनुसार प्रज्वल ५ वर्ष अघिदेखि नेक्रवित्रम चन्द समूहसँग नजिक भएर राजनीति गर्थे । उनको फेसबुक वालमा पोस्टिएका फोटो र स्टाटसबाट पनि यो प्रस्टै हुन्छ।

बझाङको जयपृथ्वी नगरपालिका १ का २६ वर्षीय उनी अध्ययनका लागि राजधानी छिरेदेखि नै राजनीतिमा लागेका थिए । डाक्टर बन्ने उद्देश्य लिएर राजधानी छिरेका उनले भर्खरै ओम समाज कलेज अफ हेल्थ साइन्सबाट एचए सकेका थिए ।

साथमा भाइबहिनी पनि सँगै राखेर उनी कलंकीमा डेरामा बस्दै आएका थिए । प्रज्वल र सत्य प्रायः सँगै बस्थे, सँगै खान्थे र दुःखसुख बाँड्थे । साथी सम्झँदै सत्य भन्छन्, ‘एकपटक उसको नजिक आएको मान्छे सधैं उसकै वरिपरि हुन्थे । साह्रै मिजासिलो थियो।’

परिवर्तन युवाबाटै सम्भव छ भन्दै कुनै रोजगारी नगरी उनी ‘फुल टाइम’ राजनीतिमा होमिएका थिए । यसैबीचमा उनी धेरैपटक प्रहरीको हिरासतमा पनि परेका थिए । एकपटक त २४ दिन जेल बसेका थिए ।

सत्यलाई भने साथीले राजनीतिभन्दा पनि पढेर स्वास्थ्य पेसामै भविष्य बनाए हुन्थ्यो जस्तो लाग्थ्यो । उनले भने, ‘कतिपटक मैले सम्झाएको पनि थिएँ । यस्तै कुराले पछिल्लो समय हाम्रो भेटघाट अलि पातलिएको थियो ।’

बम विस्फोट घटनाको दुई दिनअघि उनीहरू सँगै बसेका थिए । शनिबार दिउँसोसम्म पनि सँगै थिए । ‘पार्टीको काम छ’ भनेर निस्केका उनीहरूबीच त्यही अन्तिम भेट भयो । प्रज्वलको मृत्युको खबर सुनेपछि गाउँमा उनकी आमा, हजुरआमा र बुबा बेहोस भएको एक आफन्तले बताए । उनले भने, ‘भाइ राजनीतिमा लागेको छ भनेर गाइँगुइँ मात्रै सुनिएको थियो । राजनीतिक यात्राले उसलाई यहाँसम्म पुर्‍याउला भनेर हामीले सोचेका पनि थिएनौं।’

सोमबार साँझ महाराजगन्जस्थित फरेन्सिक मेडिसिन विभागले प्रज्वलको पोस्टमार्टम गरिदिएर शव फिर्ता दिएको छ । सोमबार साँझै पशुपति आर्यघाटमा उनको अन्तिम संस्कारसमेत गरिएको छ । ‘केही नचिनिने अनुहार घर लगेर बेकार आमाबुबालाई किन थप रुवाउने भनेर यहीँ अन्तिम संस्कार गर्ने निर्णय गरियो,’ आफन्तले भने।