नेपाली सेफ सन्तोष शाह बीबीसी मास्टर सेफको फिनालेमा - Himal Post Himal Post
  • २९ माघ २०८१, मंगलवार
  •      Tue Feb 11 2025
Logo

नेपाली सेफ सन्तोष शाह बीबीसी मास्टर सेफको फिनालेमा



काठमाडौं- बीबीसी वान टेलिभिजनबाट प्रसारण भैरहेको विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’ का प्रतियोगी नेपाली सेफ सन्तोष शाह प्रतियोगिताको शीर्ष तीनमा पर्न सफल भएका छन् । योसँगै उनी ग्रान्ड फिनालेमा प्रवेश गरेका छन् ।

शुक्रबार आयोजना हुने कार्यक्रमको ग्रान्ड फिनालेमा उनले दुईजना विरुद्ध आफ्नो उत्कृष्ट पाककला प्रस्तुत गर्नेछन् ।

बिहिबारको शोमा सन्तोषले जिम्बुले झानेको भेडाको मासुलाई गुन्द्रकमा बेह्रेर चर्चित सेफको टेबलमा पस्केका थिए । यसका साथै उनले स्पाइसी सोयाबिन क्रम्ब्स, पुदिनाको पराठा, बोन म्यारो ससलगायतका खानाले निर्णायकहरुको मन जिते ।

यस्तै, कार्यक्रमको दोस्रो चरणमा सन्तोषलगायत त्यहाँ उपस्थित सेफलाई आफूलाई सबैभन्दा मनपर्ने मानिसका लागि खाना बनाउन भनियो ।

सन्तोषले आफू १२ वर्षको हुँदा स्थानीय नहरमा काम गर्दाको समयलाई स्मरण गर्दै आफ्नी आमाका लागि खाना बनाए । कामको बीचको ब्रेक हुन्थ्यो । ब्रेकमा आमाले उनलाई खाजा ल्याइदिन्थिन् । आमा–छोरा दुबै सँगै खान्थे । उनले आफ्नो विशेष समयलाई स्मरण गर्दै अन्जिर र अदुवा भरेर चिप्ली भिन्डी तारे, आँप र नरिवलको चटनी बनाए, आलु, मेथी र अनारको सलाद बनाए, केसर हालिएको भात, गँगटोको तरकारी सस, तारेको हरियो खुर्सानीसँगै पुरी बनाए । साथै उनले चकलेट र ऐंसेलुको सम्मिश्रणले उत्कृष्ट डिश तयार पारे ।

यो चरणमा पनि निर्णायक सन्तोषको सृजनशीलता र मसलाहरुको सम्मिश्रण देखेर चिकत परे ।

शुक्रबार ‘मास्टरसेफ च्याम्पियन २०२०’ को उपाधिका लागि उनको अन्य दुई सेफसँग कडा टक्कर हुनेछ ।

फिनालेमा प्रवेश भएपछि सन्तोषले आफ्नो खुसी व्यक्त गर्दै भनेका छन्, ‘अन्तिम तीन सेफमा आफू पनि पर्न सफल भएकोमा निकै गौरवान्वित महसुस गरिरहेको छु, साथै यसका लागि आभारी पनि छु । मलाई सबैभन्दा बढि खुसी के मा लागेको छ भने जुन कुरा मैले आफ्नो जीवनभरी खोजिरहेँ, गर्न चाहेँ, त्यो मैले यो प्लेटफर्ममा पाएको छु । नेपाली खानालाई विश्वसामू चिनाउन पाउँदा र चर्चित सेफको टेबलमा पस्कन पाउँदा म निकै गर्व महसुस गर्छु । नेपाली खानाले आफ्नो अस्तित्व पाएकोमा असाध्यै उत्साहित छु । अब म हाम्रो उत्कृष्ट कुजिन र संस्कृतिको संसारभरी फैलावटका लागि यसलाई आफ्नो मिसन नै बनाउनेछु ।’

सन्तोषले यसअघिको शोमा नेपालको हिमाली क्षेत्रको खानाको रूपमा बन तरूल सँगै पोलेको कटहर र काक्रोको बियाँ, स्याउको चटनीलगायतका परिकार बनाएका थिए।

साथै, गत साताको सेमिफाइनलमा सन्तोषले नेपालको योमरी परिकारको परिष्कृत रूप प्रस्तुत गरेका थिए। योमरीभित्र चकलेट तथा काजु हालिएको थियो र माथि सुन्तला र दालचिनीले सजाइएको थियो। लगत्तै उनले भारतीय –चिनियाँ शैलीको चिकन चिली पनि पस्किए ।

प्रतियोगिताको पूर्व चरणमा उनले नेपाली मासुको झोल, सिस्नु, बेथे जस्ता तरकारी, तामा र भाङको चटनी, मकैको रोटी, जस्ता परम्परागत नेपाली खानाहरु पस्किएका थिए।

अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित बीबीसी मास्टर सेफ प्रतियोगितामा नेपाली खाना लिएर प्रतिस्पर्धामा उत्रने सन्तोष नै पहिलो नेपाली सेफ हुन् ।