प्रधानमन्त्री विरुद्ध सन्तहरू पनि आन्दोलनमा: लगाए गम्भीर आरोप
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम नेपालकै भएको र अयोध्या पनि नेपालमै भएको, भारतले नक्कली अयोध्या बनाएर नेपालमाथि सांस्कृतिक अतिक्रमण गरेको बताएपछि धार्मिक रूपमा पनि प्रधानमन्त्री माथि संकट थपिने देखिएको छ ।
भगवान रामको बारेमा दिएको ओलीको अभिव्यक्तिको विरोधमा अयोध्याका सन्त महात्माहरु भड्किएका छन् । उनीहरुले ओली नेपाली नागरिकनै नभएको टिप्पणी गर्दै एक महिनामा सत्ताच्यूत गरिदिनेसमेत दाबी गरेका छन् ।
अयोध्यास्थित राम दल ट्रस्टका अध्यक्ष रामदास महाराजले भारतीय टेलिभिजन च्यानल आजतकसँग कुरा गर्दै मंगलबारदेखि नेपालमा रहेका आफ्ना शिष्यहरुले ओलीविरुद्ध प्रदर्शन गर्ने बताएका छन् ।
“मेरा लाखौं शिष्य नेपालमा रहन्छन् । आजबाट उनीहरु सडक प्रदर्शनमा उत्रिन्छन् । प्रधानमन्त्री ओली एक महिनाभित्रै सरकारबाट हट्नुपर्ने छ,” अध्यक्ष रामदास महाराजले भनेका छन्, “म नेपालमा रहेका सम्पूर्ण शिष्यहरुलाई ओलीलाई सत्ताबाट बहिष्कृत गर्न आदेश दिन्छु, मेरो आदेश पालना गर्न निर्देशन दिन्छु ।”
उनले वेद र पुराणमा गरिएको वर्णन स्मरण गराउँदै अयोध्या नेपालमा नभएको बताएका छन् । ट्रस्टका अध्यक्ष रामदास महाराजले सम्पूर्ण विश्वको सांस्कृतिक राजधानी अयोध्या भएको पनि जिकिर गरेका छन् ।
“अयोध्यालाई ऋग्वेदमा हेर्नुस्, वाल्मिकी रामायणमा हेर्नुस्, पुराणमा हेर्नुस् जसको उत्तर दिशामा सरयु नदी प्रवाहित हुन्छ त्यो अयोध्या हो,” उनले प्रश्न गरेका छन्, “नेपालमा त सरयु नदी छँदै छैन । अयोध्या नेपालमा छ भनेर कसरी दाबी गर्न सक्छन् ? पूरै भू–मण्डलमा राजा हुन्थे र ती सवैका चक्रवर्ती सम्राट भारतको उत्तर प्रदेशमा पर्ने अयोध्याका महाराज हुन्थे ।”
यस्तै धर्मगुरू महन्त परमहंसले प्रधानमन्त्री ओलीलाई नेपाली नागरिकनै नभएको दाबी गरेका छन् । उनले नेपाली नागरिकनै नभएको व्यक्तिले नेपालको हितमा काम गर्न नसकने पनि जिकिर गरेका छन् । महन्त परमहंसले प्रधानमन्त्री ओलीले नेपाललाई पाकिस्तान जस्तै भिखारी मुलुक बनाउन खोजेको पनि आरोप लगाएका छन् ।
“पहिलो कुरा केपी ओली स्वयम नेपाली होइनन् । जो त्यो देशको नागरिक नै होइन उसले नेपालको भलो कसरी गर्छ । केपी शर्माजी पूरै नेपाललाई पाकिस्तानझैँ भिखारी बनाउन तल्लिन छन् । उनी नेपाली जनतालाई धोका दिइरहेका छन्,” उनले भनेका छन् ।
चीनले नेपालका दुई दर्जनभन्दा बढी गाउँहरुमा अतिक्रमण गरेको दाबी गर्दै धर्मगुरू महन्त परमहंसले त्यसैलाई लुकाउनका लागि ओलीले भगवान रामको नाममा आश्रय लिन खोजेको आरोप लगाएका छन् । राम मन्दिर ट्रस्टका सदस्य महन्त दिनेन्द्र दासले राजनीतिमा कसैले पनि केही बोल्न सक्ने भन्दै आफूहरुका लागि उत्तर प्रदेशको अयोध्यानै अयोध्या भएको बताएका छन् ।
“हाम्रा लागि अयोध्या एउटै छ र अयोध्या यहीँ रहने छ । राजनीतिमा जे पनि बोल्न सक्छन्,” उनले भनेका छन्, “तर, मुख्य अयोध्या त्यो हो, जहाँ सरयु माता छन् । रामजीको अयोध्या यही हो ।”
प्रधानमन्त्री ओलीले सोमबार बालुवाटारमा आयोजित एक कार्यक्रममा भगवान राम सम्बन्धी विवादित बयान दिएका थिए । उक्त विवादित बयानपछि उनको नेपालमा समेत व्यापक आलोचना भइरहेको छ ।
सत्तारुढ नेपाल कम्यसनिस्ट पार्टी (नेकपा) कै विदेश विभाग उपप्रमुख विष्णु रिजालले समेत प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति प्रति आलोचना गरेका छन् ।
उनले ट्विट गर्दै भनेका छन्, “पदमा बसेर बेतुकका र असान्दर्भिक कुरा बोल्दा राष्ट्रकै शीर झुक्छ । अप्रमाणित, पौराणिक र विवादास्पद कुरा बोलेर विद्वान भइन्छ भन्नु ठूलो भ्रम हो । फुकीफुकी पाइला चालेर भूमि फिर्ता ल्याउनुपर्ने बेलामा विरोध र उत्तेजनाका लागि एकपछि अर्को मसला दिइनु दुर्भाग्यपूर्ण मात्र होइन, रहस्यमय छ ।”