संसद् भवनको ढोका बन्द भएको छैनः रेशम चौधरी - Himal Post Himal Post
  • २१ पुष २०८१, आईतवार
  •      Sun Jan 5 2025
Logo

संसद् भवनको ढोका बन्द भएको छैनः रेशम चौधरी



            एकैदिन बयान, बहस र आदेश

कैलाली । टीकापुर घटनाका अभियुक्त रेशम चौधरीले साढे दुई वर्षपछि सोमबार बिहान कैलाली जिल्ला अदालतसमक्ष आत्मसमर्पण गरेका छन् । दिनभर चलेको बयान र बहसपछि अदालतले पुर्पक्षका लागि उनलाई थुनामा राख्न आदेश दिएको छ ।

थरुहट आन्दोलनका क्रममा ७ भदौ, ०७२ मा भएको टीकापर घटनामा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित सुरक्षाकर्मी र सर्वसाधारण गरी नौजनाको मृत्यु भएको थियो ।

सो घटनामा ५८ जनामाथि मुद्दा दायर गरिएको थियो । २५ जना पक्राउ परेका थिए भने अन्य ३३ फरार थिए । यो मुद्दामा मुख्य योजनाकार भनेर आरोप लागेका चौधरी फरार थिए । उनीमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दा लगाइएको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

चौधरी फरार रहेकै वेला कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । भिडियोबाटै चुनाव प्रचार गरेका राजपा उम्मेदवार चौधरीले ३४ हजार ३ सय ४१ मत पाएका थिए । उनको निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार मदनकुमारी शाह (गरिमा)ले १३ हजार ४ सय ६ मत पाएकी थिइन् । उनलाई निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यमा निर्वाचन भएको प्रमाणपत्र दिएको छैन । सर्वोच्च अदालतले पनि निर्वाचन आयोगकै पक्षमा आदेश दिएपछि उनी आत्मसमर्पण गर्न बाध्य भएका हुन् ।

एकैदिन बयान, बहस र आदेश

सोमबार बिहान ११ः१४ बजे चौधरीले कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरे । उनी मोटरसाइकल चलाएरै अदालत पुगेका थिए । उनी आउने सूचना पाएर पक्राउ गर्न अदालत परिसरबाहिर खटिएका प्रहरीले चाल नै पाएनन् ।

न्यायाधीश परर्शुराम भट्टराईको इजलासमै जिल्ला सरकारी वकिलले चौधरीको बयान लिए । करिब चार घन्टा बयान लिइएको थियो । बयानका क्रममा उनले आफू टीकापुर घटनामा संलग्न नभएको जिकिर गरेका थिए ।

बयान सकिएपछि चौधरीका वकिलले पुर्पक्षका लागि जमानीमा छोड्न अदालतमा अपिल गरे । त्यसपछि अदालतमा चलेको बहसमा उनका तर्फबाट अधिवक्ताहरू गंगाराम पाध्याय, मिलन राई, नाथुराम महतो र राजेन्द्र केसीले बचाउ गरेका थिए । उनीहरूले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकाले थुनामा राख्न नहुने जिकिर गरेका थिए ।

उनलाई पुर्पक्षका लागि थुनामा राख्नुपर्ने जिकिर गर्दै जिल्ला सरकारी वकिलको कार्यालयका न्यायाधिवक्ता प्रकाशबहादुर भण्डारी तथा सहन्यायाधिवक्ताद्वय नवीनकुमार भट्ट र भानदेव जोशीले बहस गरेका थिए ।

दुवै पक्षको बहस सुनेपछि जिल्ला न्यायाधीश भट्टराईले चौधरीलाई पुर्पक्षका लागि थुनामा राखेर मुद्दाको प्रक्रिया अगाडि बढाउन आदेश दिए । अदालतको आदेशमा ‘घटनाका अन्य अभियुक्तको बयान र प्राप्त अन्य प्रमाणहरूका आधारमा चौधरी कसुरदार नरहेको मान्न नसकिने भएकाले पुर्पक्षका लागि कारागार चलान गर्नू’ भन्ने उल्लेख छ ।

सोमबार साँझ नै थुनुवा पुर्जी दिएर उनलाई कारागार चलान गरिएको जिल्ला अदालतका श्रेस्तेदार इन्द्र कठायतले बताए ।

भोली अर्को पेसी

चौधरीलाई थुनामा राख्ने आदेशमा घटनाका फरार प्रतिवादीहरूलाई अदालतमा उपस्थित हुन म्याद जारी गर्न पनि भनिएको छ । सोहीअनुसार टीकापुर घटनाको मुद्दाको पेसी १६ फागुनमा तोकिएको श्रेस्तेदार कठायतले बताए ।

संसद् भवनको ढोका बन्द भएको छैनः चौधरी

अदालत परिसरमै पत्रकारसँग कुराकानी गर्दै चौधरीले संसद्मा जाने ढोका बन्द नभएको बताए । कारागार चलान गरिनुअघि उनले भने, ‘यो नै अन्तिम फैसला होइन, त्यसैले मेरो संसद्मा जाने ढोका बन्द भएको छैन ।’ उनले अदालतप्रति भरोसा जनाएका छन् । चौधरीले भने, ‘अहिले कारागार चलान गरे पनि आगामी दिनमा अदालतले मलाई न्याय दिनेछ भन्ने विश्वास लिएको छु ।’

कारागार चलानको आदेशले भारी मतले विजयी सांसदको विश्वास नगरेजस्तो देखिएको उनको भनाइ थियो । प्रतिनिधिसभा निर्वाचित सदस्य चौधरीले भने, ‘अदालतको आदेश पूर्वाग्रही भयो भन्दिनँ तर, साढे ३४ हजार जनमतले विजयी भएको सांसदलाई विश्वास नगरेजस्तो देखियो । भाग्ने भए अदालतमै उपस्थित हुने थिइनँ ।’

चार घन्टा बयान

सोमबार बिहान ११ः१४ बजे चौधरीले कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरे । न्यायाधीश परर्शुराम भट्टराईको इजलासमै जिल्ला सरकारी वकिलले करिब चार घन्टा उनको बयान लिए । चौधरीका वकिलले पुर्पक्षका लागि जमानीमा छोड्न अपिल गरे पनि उनलाई साँझ नै थुनुवा पुर्जी दिएर कारागार चलान गरियो ।