संक्रमित व्यक्ति नै काममा जान थाले: उपत्यकाको अवस्था निकै जटिल - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

संक्रमित व्यक्ति नै काममा जान थाले: उपत्यकाको अवस्था निकै जटिल



काठमाडौं- उपत्यकामा कोरोना संक्रमणको अवस्था भयावह बनेको छ । पछिल्लो समय संक्रमित व्यक्ति आइसोलेसनमा नबसेर काममा निस्कन थालेपछि उपत्यकाको अवस्था थप जटिलतातर्फ धकेलिएको हो ।

कोरोना संक्रमण दर तीव्र रुपमा फैलिएपछि स्वास्थ्य मन्त्रालयले समेत जटिल समय आएको बताएको छ ।

एक साता अवधिमा काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं,, ललितपुर र भक्तपुरमा गरी १२ हजार ४५२ जनामा कोरोना भाइरस संक्रमण भएको छ।

आइतबारदेखि शनिबारसम्म देशभरमा २१ हजार ११७ जनामा कोरोना भाइरस संक्रमण भएको थियो। एक सातामा उपत्यकाबाहेक ७४ जिल्लामा संक्रमित हुनेको संख्या आठ हजार ६६५ रहेको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक वासुदेव पाण्डेले काठमाडौंका सर्वसाधारणले स्वास्थ्य जोखिमलाई ख्याल गरेको बताएका छन् ।

संक्रमित व्यक्ति पनि लक्षण देखिएन भनेर काममा हिँड्न थालेको र सुरक्षाकर्मीमा पनि यस्तो समस्या देखिएको उनले बताएका छन् ।

लकडाउनपछि उपत्यका भित्रिनेको व्यवस्थापन गर्न नसक्दा पनि संक्रमण बढिरहेको उनको भनाइ छ।

पाण्डेले भने, ‘लकडाउन खुलेपछि राजधानी भित्रने धेरै भए। तर उनीहरुको व्यवस्थापन हुन सकेन। त्यसैले संक्रमण बढिरहेको छ।’

उनले सरकारी आदेश अवज्ञा गरेर जथाभाबी घरबाहिर निस्कँदा पनि कोरोना जोखिम बढ्दै गएको बताए।
त्यसो त राजधानीबाहिरभन्दा उपत्यकामा परीक्षणको दायरा बढाइएको उनको भनाइ छ।