हरुवा नेताहरू धेरै बोलेको भन्दै देउवाले थर्काएपछि…
काठमाडौं- कांग्रेस केन्द्रिय कार्यसमिति बैठकमा सभपती शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेल पूर्वमहामन्त्री कृष्ण सिटौला लगयातका नेतामाथि खनिएका छन् । प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा पार्टी उभिनुपर्ने पौडेलको अडानलाई लिएर देउवाले ब्यक्तिगत रूपमै उत्रेर तथानाम बोलेका छन् ।
अन्य समय भन्दापनि आक्रामक देखिएका देउवाले ब्यक्तिगत स्तरमै उत्रेर नेताहरूलाई थर्काएका थिए । देउवा चिच्याउन थालेपछि नेताहरूले रोक्ने प्रयास गरेका थिए ।
बुधबार सभापति र वरिष्ठ नेताबीच भएको विवाद व्यक्तिगत विषयसम्म पुगेपछि अरु नेताहरुले रोक्नुपरेको एक नेताले बताए ।
दिउसो २ बजे बोलाइएको कार्यसमिति बैठकअघि संस्थापन इतरका नेताहरु पौडेलको कार्यकक्षमा भेला भएर अब संसद पुनर्स्थापना हुनुपर्छ भनेर पार्टीले प्रष्ट अडान लिनुपर्ने भन्दै पौडेललगायतका नेताको ध्यानाकर्षण गराएका थिए ।
त्यसपछि पौडेलसँगै कृष्ण सिटौला लगायतका नेताहरु सभापति देउवाको कार्यकक्षमा गए । त्यहाँ महामन्त्री पूर्णबहादुर खड्काले भदौ ७–१० सम्म पार्टीको १४ औं महाधिवेशनको प्रस्तावित कार्यतालिका सुनाए ।
महाधिवेशनबारे बिहिबार विहान अनौपचारिक छलफल गर्ने र दिउँसो केन्द्रीय कार्यसमितिबाट टुंगो लगाउने सहमति जुटेपछि केन्द्रीय कार्यसमिति बैठकको सुरुमा बोलेका पौडेलले आफ्ना तीन अडान राखे ।
संसद पुनर्स्थापना हुनुपर्छ भन्ने लाईनमा कांग्रेसलाई उभ्याउँ, संवैधानिक नियुक्तिहरू खारेज हुनुपर्ने अडान राखौँ र प्रदेशमा अविश्वासको प्रस्तावको पक्षमा लागौँ ।
‘अब अलटाल गरेर हुँदैन । कांग्रेसले आफ्नो धर्म निर्वाह गर्नुपर्छ, सत्यको पक्षमा उभिन सक्नुपर्छ, नत्र कांग्रेसको भविष्य राम्रो छैन, वरिष्ठ नेता पौडेलले भने ।
पौडेलका यस्ता प्रस्ताव सुन्नेबित्तिकै देउवा फायर बनेका थिए । उनले आफू नबोल्ने भनेको तर बोल्न बाध्य भएको बताए । उनले आवस्यकता अनुसार पार्टीले निर्णय लिएको भन्दै बढी एग्रेसिभ नहुन नेताहरूलाई सुझाव दिए ।
त्यत्तिकैमा नेता कृष्ण सिटौलाले सभापति देउवाजी आफ्नो पुरानो अडानबाट पनि पछि हटेको हो ? भन्दै प्रश्न सोधेका थिए ।
नेता सिटौलाले संसद विघटन असंवैधानिक भन्ने पार्टीको निर्णयबाट पनि देउवाजी ब्याक भएको सुनाएका के थिए । उनले पार्टीले यस्तो अवस्थामा संविधानको रक्षामा उभिनुपर्ने बताए ।
नेता सिटौलाको कुराले आगो भएका देउवा त्यसपछी भने तथानाम बोल्न सुरू गरे । उनले हरुवाहरू नै धेरै जान्ने भएको भन्दै ब्यक्तिगत स्तरमा उत्रेर आरोप लगाएका थिए ।
झन्डै हात हालाहालको अवस्था आइसकेको बताउँदै एक नेताले भने नेताहरूले नरोकेको भए त्यहाँ जे पनि हुन्थ्यो । दुबै पक्ष आक्रोशित बनेका थिए ।
देउवाले हरुवाहरूलाई संसद किन चाहियो भन्दै नेताहरूलाई थर्काएका थिए । कतिपय नेताहरूलाई धेरै जान्ने भएको आरोप समेत लगाए । बड्ता जान्ने नहुन उनले चेतावनी समेत दिएका थिए ।
एक केन्द्रीय सदस्यका अनुसार वरिष्ठ नेता पौडेलले ओलीले चुनाव गराउँछन्, प्रधानमन्त्री बनाइदिन्छन् भन्ने भ्रममा नपर्न सभापति देउवालाई खबरदारी गरेका छन् ।
देउवाले संवैधानिक निकायहरुमा भएको नियुक्तिबारे पौडेलले उठाएको प्रश्नमा यसमा सभामुख मुख्य दोषी भएको बताएका थिए ।