संकटमा 'युवा चिकित्सक' र 'राष्ट्रका लागि युवा'ले गरेका प्रयास - Himal Post Himal Post
  • १४ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 30 2024
Logo

संकटमा ‘युवा चिकित्सक’ र ‘राष्ट्रका लागि युवा’ले गरेका प्रयास



-डा. निकोलश भुसाल

हामी युवा चिकित्सक सङ्घ र सहयात्रा राष्ट्रका लागि युवा विगत लामो समयदेखि राष्ट्रको सामाजिक र आर्थिक रूपान्तरणमा लागि रहेका छौँ । स्वर्गको पहिचान नेपाल अन्तर्गत स्वस्थ्य नेपाल खुसी नेपाली (निःशुल्क स्वास्थ्य शिविर तथा जनचेतना मूलक कार्यक्रम ), फोहोर बाट मोहर, शिक्षित नेपाल विकसित नेपाल, आफ्नो ठाउँ आफै चिनाऊ, अर्ग्यानिक नेपाल आत्मनिर्भर नेपाल लगायतका प्रोजेक्टहरू नेपालका विभिन्न ३९ जिल्ला वा स्वर्गका टुक्राहरूमा गर्दै आएका छौँ । अन्तिम स्वर्गको टुक्रा दार्चुलामा फाल्गुन १-१० गते सम्म ४५७६ जनाको निःशुल्क स्वास्थ्य सेवा, फोहोर बाट मोहर, पर्यटन पर्वपन लगायतका कार्यक्रमहरू गरेर फर्केका थियौ ।

करिब ३ महिना अगाडिदेखि हामी कोरोना सचेतना, स्वास्थ्य सामाग्री उत्पादन र वितरण सँगसँगै, Quarantine स्थापना र परीक्षण लगायतका कार्यक्रम गरिरहेका छौँ । खाना नपुगेकालाई खाना, कहिले कीर्तिपुरका सुकुम्वासीमा राहत बाँड्नेदेखि लिएर अस्पतालमा खाना पुर्‍याउने, औषधि कसैलाई पुगेनकी भनेर विभिन्न स्थानमा पुग्यौँ । अनाथ आश्रमदेखि वृद्धाश्रमसम्म सक्दो सहयोग ग-यौं ।

१७ दिनदेखि थानकोट र १० दिनदेखि जडीबुटी लगायतका स्थानमा Screening कार्यक्रम गरिरहेका छौँ । अहिले सम्म करिब ५ लाख ७ हजार ८ सय जनाको परीक्षण गरिएको छ । जसमध्ये ७ जना शङ्कास्पद हुनुहुन्थ्यो र भाग्यले सबैको रिपोर्ट नेगेटिभ आयो । सुरुको दिनमा करिब ४०-५० हजार सम्म यात्रुहरूको आवत जावत हुने गर्थ्यो । थानकोटबाट दैनिक २५ हजारसम्म यात्रु, स्वास्थ्य उपकरण र कृषिजन्य सवारीमा आउने जाने अनि अत्यावश्यक बस्तुहरू ओसार पसार गर्ने थिए ।

जडीबुटीमा सुरुवातमा काठमाडौँबाट बाहिर जाने क्रम तीव्र रहेको हुँदा जाने निकै धेरै हुनुहुन्थ्यो । जाने क्रममा धेरैमा घर जाँदा कसैलाई सार्ने हो कि भन्ने डर थियो धेरैमा हामीले जाँच गरिसकेपछि निश्चिन्त भएर फर्कने गर्दथे । अहिले करिब २ हजार जनाको थानकोट र १० हजार सर्वसाधारण जडीबुटीबाट भित्रिने बाहिरिने भइरहेको छ ।

सुरुवातमा निकै कठिन थियो हामीहरूलाई, सुरक्षित रूपमा डाक्टर र हामीहरूको स्वास्थ्यमा केही हुने हो कि ? त्यो भन्दा धेरै उपस्थित रहेका अरू स्वयंसेवक नर्स र अन्य साथीहरूको सुरक्षाको चिन्ता थियो । कतै सङ्क्रमण आफैलाई हुने हो कि भन्ने डर कतै-कतै थियो । त्यो भन्दा ठुलो डरमा हामीसँग हिँडेका साथीहरू थिए, उनीहरूलाई केही हुने हो कि भन्ने थियो । बाच्ने आसा थियो बचाउने प्रयास त्यो भन्दा धेरै । सङ्क्रमण फैलिने क्रममा थियो, त्रास बढी नै रहेको थियो, प्रयास यत्ति थियो, गाउँबाट सङ्क्रमण सहरमा नआओस् र सहरबाट गाउँमा नजाओस् ।

हामीले गरेको प्रयासमा स्थानीय सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग लगायतको साथ होलाकी भनेर धेरै आसा थियो, तबसम्म आसा थियो दिनौँको प्रयासपछि मन्त्रालयबाट तोक लगाएर जाँदा पनि हामीलाई नेपालभरिको नाकामा परीक्षण गर्छौँ भन्दा जब एउटा थर्मल गन र एउटा PPE पनि पाउन सकेनौँ । देशको मायाले नै आफूले सक्ने जसो तसो अहिलेसम्म गरी नै रहेका छौँ ।

कोरोना नियन्त्रण र विदेशमा रहेका नेपालीलाई भित्र ल्याउन कसरी QUARANTINE र स्वास्थ्य सामाग्री व्यवस्थापन गर्ने भन्ने प्रयासमा लाग्नुपर्ने समयमा सरकारको केही कदमले हतोत्साहित पनि बनायो । बारम्बार राहतको लागि र औषधी उपचारको लागि बिहानदेखि साँझसम्म फोनको घण्टी बजिरहँदा पिडा भइरहन्छ ।

स्वास्थ्य कर्मी र सुरक्षाकर्मीसंगै खटिरहेका सम्पूर्ण साथीहरूमा हार्दिक नमन व्यक्त गर्न चाहन्छौँ । सम्पूर्ण फ्रन्ट लाइनमा बसेर सेवामा लागिरहेका देशभरका स्वास्थ्य कर्मी प्रति उच्च सम्मान सहित उच्च मनोबल सहित काम गर्न अनुरोध पनि युवा चिकित्सक सङ्घको तर्फबाट गर्न चाहन्छौँ । डाक्टर सुलोचन लोहनी, डाक्टर रविन बस्नेत, डाक्टर सुमन न्यौपाने, डाक्टर भोला नेपाल, डाक्टर कपिल थापा, डाक्टर चेतन बस्नेत, डाक्टर अनुप्रश केसी लगायतका डाक्टरहरूको अग्रसरतामा यो अभियान भइरहेको छ । युनिशा अधिकारी, एन्जल श्रेष्ठ, कोपिला थापा लगायतका स्वास्थ्य कर्मी, खेमराज साउद, नेत्र विक्रम भट्ट, जोहन श्रेष्ठ, अर्जुन राज पौडेल, मनोज ठकुरी, अरुण न्यौपाने, कोसिस कँडेल, विकास रायमाझी, सन्तोष याल्मो, एलेक्स दोर्जे, अभिषेक राज सिंह थापा, शिशिर जिसी, अलिश बिस्ट, उमेश पराजुली, अनीश रेग्मी, अक्वा थापा, सक्रिन मगर, प्रेशिका लामा, सुशान्त पौडेल, अल्बिना उप्रेती, किरण ढकाल लगायतका साथीहरू निरन्तर रूपमा लागि रहनु भएको छ । लेनिन विष्ट, जयकिशन बस्नेत, जीवन सर लगायतका प्रखर व्यक्तित्वको उपस्थितिले हाम्रो मनोबल अझै बढेको छ ।

निरन्तर घाम पानी, हजारौँ मानिसको नजिक जाँदा सङ्क्रमण हुने डर, लक डाउनले गाडी र स्वयंसेवकको अभाव अनि स्पोन्सर अभावले हामी कसैको आत्मबललाई कमजोर पारेन ।

वर्तमान स्थितिमा जसरी हुन्छ छिटो भन्दा छिटो टेस्ट गरेर बाङ्लादेशमा हरेक ७ सय जनाको उद्धार गरी पालो पालो खाडी र अन्य मुलुकमा रहेका नेपालीहरूलाई बोलाउन सकिन्छ । बाङ्लादेशमा रहेका नेपालीहरूलाई एयरपोर्टमा परीक्षण गरेर सङ्क्रमितलाई उपचारमा र नेगेटिभलाई QUARANTINE मा राख्न सकिन्छ । उनीहरूलाई अनुसन्धान र १४ दिनपछि सेवा र परीक्षणमा लगाउन सकिन्छ ।

खाडीमा रहेका लाखौँ नागरिकलाई पनि QUARANTINE With Farm Model मा बाझो खेतबारी नजिक कृषिमा या निर्माण कार्यमा लगाउन सकिन्छ । यो गर्दा हामीले उत्पादनबाट उहाँहरूलाई आत्मनिर्भर र सिङ्गो राष्ट्रलाई पनि आत्मनिर्भरताको बाटोतर्फ अगाडि बढाउन सकिन्छ । निर्माण कार्य सञ्चालन नै छ, धेरै कामदार निर्माण कार्यमा लागेका हुँदा चाहना अनुसार निर्माण कार्यमा पनि लगाउन सकिन्छ । हजारौँ अवसर हुँदाहुँदै पनि केही वर्ष देखि गरिब देश नेपालका लागि अब आउने आर्थिक सङ्कटलाई सामना गर्न हामीले औषधि, जडीबुटी, कपडा, मिनिरल लगायतका सबै कुरामा आत्मनिर्भर हुन सक्छौँ र यो हामी सबै मिलेर लाग्ने हो भने गाह्रो छैन । ११ लाख बेरोजगार रहेको देशमा अब फेरि लाखौँ नागरिकहरू आउँदा हामी उचित व्यवस्थापन गर्न सकेनौँ भने जुनसुकै समयमा अर्को सङ्कट आउन सक्ने हुँदा समयमै तयार रहन जरुरी छ ।

अबको जिम्मेवारी हेर्ने हो भने सरकारले तुरुन्त नेपालमा रहेका सबैको कोरोना जाँच गरी उचित व्यवस्थापन गर्नुपर्छ र बाहिरबाट ल्याउने प्रयास गर्नुपर्छ । डाक्टर लगायत अगाडि खटिरहेका सम्पूर्णको मनोबल उच्च राख्न तलब, सुविधा बढाउन र वरिष्ठ चिकित्सकहरूको समिति बनाई व्यवस्थापन र परीक्षणलाई अझै रफ्तारमा अगाडि बढाउन पर्छ । सम्पूर्ण स्वास्थ्य कर्मीले पनि पूर्ण सतर्कता र साहसका साथ यो युद्धभुमिमा खट्नु जरुरी छ । सुरक्षा कर्मी र स्वयंसेवक साथीहरू पनि अझै धेरै सतर्कता अपनाएर सुरक्षा र सेवामा खट्नु पर्छ ।

सम्पूर्ण नागरिकहरू आफ्नो सुरक्षा र स्वास्थ्यको लागि नियम र सावधानका उपायहरू अपनाउन जरुरी छ । पोहोर साल मात्र ४ खर्वको कृषि उत्पादन विदेशबाट आयात गर्नु परेको हुनाले यदि हामी अहिले पनि खाना उत्पादन गर्न सकेनौँ भने अर्को भोकमरीको समस्या आउन सक्छ ।

अहिले देशको र सरकारको वास्तविकता छर्लङ्ग भएको छ । यो समयमा सम्पूर्ण डाक्टरहरू र स्वास्थ्य कर्मी एक भएर अगाडि बढेर स्वास्थ्य नेपाल निर्माणमा लाग्नुपर्छ र सम्पूर्ण युवाहरू राष्ट्र निर्माणमा ।