काठमाण्डौमा शंकास्पद ९० जना पक्राउ - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

काठमाण्डौमा शंकास्पद ९० जना पक्राउ



नेकपाकी सांसद निरुदेवी पाललाई पेस्तोल तेस्र्याएर ज्यान मार्ने धम्की दिएको घटनामा प्रहरीले १८ घन्टाभित्रै ९० जनालाई पक्राउ गरेको छ।

बिहीबार ‘अप्रेसन स्विप’ चलाएर साँझसम्म शंकास्पद ९० जनालाई पक्राउ गरेको छ । पक्राउ परेकालाई प्रहरीले प्रारम्भिक अनुसन्धानका लागि प्रहरी वृत्त बानेश्वरमा राखेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरी वृत्त बानेश्वरका प्रमुख डिएसपी गोविन्द काफ्लेको नेतृत्वमा एक सयभन्दा धेरै प्रहरीको टोली अप्रेसनमा खटिएको छ । अनुसन्धान बिहीबार बिहानैदेखि साँझ अबेरसम्म जारी रह्यो।

डिएसपी काफ्लेले प्रारम्भिक चरणको अनुसन्धानका क्रममा ९० पक्राउ परेको जानकारी दिए । उनले भने, ‘बिहीबार बिहानैबाट घटनामाथि अनुसन्धान सुरु गरिएको छ । उनीहरुलाई वृत्तमै राखेर सोधपुछ हुँदैछ । दोषी देखिए मुद्दा चलाइने छ।’

अनुसन्धानका लागि सादा र पोषाक सहितका प्रहरी खटाइएको छ  । प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेल पनि फिल्डमा खटिएका छन्।

एसएसपी पोखरेलले भने, ‘घटनालाई विभिन्न कोणबाट हेरिएको छ । प्रकृति हेर्दा घटना गम्भिर नै देखिन्छ । केही पक्राउ परेका छन् । सोधपुछ चलिरहेको छ । अनुसन्धान प्रारम्भिक चरणमै रहेकाले थप नबोलौं।’

आइफोन भेटिएन
सांसद पालले धम्की दिने व्यक्तिले खोसेर लगेको भनेको आइफोनसमेत फेला परेको छैन । लुटिएको भनिएको दिनबाटै मोबाइल स्विच अफ रहेको प्रहरीले बतायो।

वृत प्रमुख डिएसपी काफ्लेले भने, ‘लुटिएको फोन खोजी भइरहेको छ । तर, भेट्टाउन सकिएको छैन । स्वीच अफ गरिएकाले लोकेशन पत्ता लगाउन नसकिएको हो।’

टोले गुण्डादेखि फरार अभियुक्तसम्म पक्राउ
अनुसन्धानमा खटिएका प्रहरीका अनुसार सांसद पाल धम्की घटनामा गुण्डादेखि फरार अभियुक्तसम्म पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले अपरेशन स्वीपअन्तर्गत ९० भन्दा धेरै पक्राउ परेको बताए ।

उनले भने, ‘घटना अनुसन्धानका लागि हामीले अपरेशन स्वीप चलाएका छौं । बिहीबार साँझसम्म शंकास्पद ९० पक्राउ परेका छन् । पक्राउ पर्नेमध्ये कोही टोले गुण्डा छन् । कोही फरार अभियुक्त छन् । सबैमाथि अनुसन्धान चलिरहेको छ । घटनाको सत्य तथ्य आउन केही समय भने लाग्न सक्छ ।’

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले घटना प्रधानन्यायाधीश नियुक्ती विवाद प्रकरणसँग जोडिएकोजस्तो देखिने दाबी गरेका छन् ।

बिहीवार गृहमन्त्रालयमा सांसद निरुदेवी पाल माथिको घटना सम्वन्धमा ध्यानाकर्षण गर्न पुगेका युवा संघ र वाइसिएल कार्यकर्ता माझ गृहमन्त्री थापाले यस्तो दाबी गरेका हुन् ।

सर्बोच्च अदालतको प्रधानन्यायायाधीशमा दिपकराज जोशीको सिफारिसलाई लिएर संसदको संसदीय सुनुवाई समितिमा केही सातादेखि बहस जारी छ । सांसद पाल सुनुवाई समितिकको सदस्य हुन् ।

गृहमन्त्री थापाले भने, ‘घटना गम्भिर प्रकृतिको देखिन्छ । सर्सर्ती हेर्दा प्रधानन्यायाधीश नियुक्ति प्रकरणसँग जोडिएकोजस्तो देखिन्छ । राजनीतिप्रेरित पनि होकी जस्तो देखिन्छ । यद्यपी अनुसन्धान भइरहेको छ । सत्यतथ्य आउला । घटना जसले गराए पनि सामान्य चाहीँ होइन।’

मंगलबार साँझ दूध किनेर डेरामा फर्किँदै गर्दा बानेश्वरको थापागाउँस्थित निवासनजिकै अज्ञात व्यक्तिले छात्तिमा पेस्तो ताकेर ज्यान मार्ने धम्की दिएको सांसद पालले दाबी गरेकी छिन् ।