क्यानडामा सन्दीपको कमाल: एक विकेट र एक छक्का - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

क्यानडामा सन्दीपको कमाल: एक विकेट र एक छक्का



ग्लोबल क्यानडा टी–२० को दोस्रो खेलमा सन्दीपले पुनरागमन गरेका छन्। पहिलो खेलमा महँगो बनेका सन्दीपले यसखेलमा ४ ओभरको स्पेलमा १ ओभर मेडन फाल्दै १ विकेट लिएर १९ रनमात्रै खर्चे भने एक छक्कासहित ७ रनपनि जोडे।

यद्यपी सोमबार राति भएको खेलमा उनको टोली मोन्ट्रोयल टाइगर्स १८ रनले भन्काउभर नाइट्ससँग पराजित भएको छ। यो मोन्ट्रोयल टाइगर्सको लगातार तेस्रो हार हो। हारसँगै टोली पुछारमा रहेको छ।

टस हारेर ब्याटिङ गरेको नाइट्सले दिएको १ सय ६७ रनको लक्ष्य पछ्याउने क्रममा टाइगर्सले १९.४ ओभरमा सबै विकेट गुमाएर १ सय ४८ रनमात्रै बनाउन सकेको थियो। उसका जर्ज वार्करले ४३ तथा मोसिस हर्निक्युजले ४० रन जोडेका थिए। ३ बल खेलेका सन्दीप १ छक्कासहित ७ रन जोड्दै नटआउट रहेका थिए।

१९ औं ओभरको अन्तिम बलमा टिम साउदीले पीटर सिड्लेको विकेट लिएपछि २०औं ओभरमा १० अौं नम्बरको ब्याट्सम्यानका रुपमा ब्याटिङ गर्न आएका सन्दीपले पहिलो बलमै वेष्ट इन्डिजका आन्द्रे रसेललाई छक्का प्रहार गरेका थिए। दोस्रो बल डट खेल्दै तेस्रो बलमा एक लिएपछि क्रिजमा आएका मलिंगालाई रसेलले आउट गरेसँगै टाइगर्सको पारी सकिएको थियो।

बलिङमा नाइट्सका टीम साउदी र साद बिन जफरले ३–३ विकेट लिएका थिए।

यसअघि नाइट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो। उसका हिभान डेर डुसेनले सर्बाधिक ८३ रन जोडेका थिए भने बाबर हायातले २० रन जोडे। क्रिस गेल ४ रनमा आउट भएका थिए।

बलिङमा टाइगर्सका लसिथ मलिंगाले ३ तथा पीट्र सिड्लेले २ तथा सन्दीपले १ विकेट लिए। सुनिल नारायणले भने विकेट पाएनन्।

सातौं ओभरमा कप्तान लसिथ मलिंगाले उनलाई पहिलो ओभर दिएका थिए। पहिलो बल वेष्ट इन्डिजका चादविक वाल्टनलाई डट खेलाएका सन्दीपले दोस्रो बलमा वाल्टनलाई विकेटकिपर दिनेश रामदिनको हातबाट स्टिम्पिङ गराउँदै विकेट लिए। सो ओभरका बाँकी बलहरु बाबर हायातले कुनै रन लिन नसेपछि सन्दीपको मेडन ओभर भयो।

टिमको नवौं ओभरमा दोस्रो ओभर लिएका आएरका सन्दीपले १० रन खर्चे। सो ओभरमा बाबर हायातले उनलाई छक्का प्रहार गरेका थिए। यस्तै टिमको १२ औं ओभर तथा आफ्ना तेस्रो ओभरमा उनले ५ रन खर्चे। जसमा भन डिर डुसनले उनलाई चौका प्रहार गरेका थिए।

टिमको १६ औं ओभरमा आफ्नो अन्तिम ओभरमा फाल्न आएका सन्दीपले ४ रनमात्रै खर्चिए। सन्दीपको तेस्रो बलमा लिभरकले ३ तथा पाँचौ बलमा भान डिर डुसेनले १ रन लिनु बाहेक बाँकी बल डट थिए।

सन्दीपको मोन्ट्रोयल भने लगातार तीन खेलमा पराजित हुँदै अंकतालिकाको पुछारमा छ। विजेता नाइट्स भने तीनमध्ये दुई खेल जित्दै ४ अंकका साथ तेस्रो स्थानमा छ।

पहिलो खेलमा प्राबिधिक कारणले क्यानडा पुग्न नसकेका सन्दीप वेष्ट इन्डिज बी टोली विरुद्ध मोन्ट्रोयलको दोस्रो खेल खेल्दा भने निकै महँगा भएका थिए। ४ ओभरमा उनले ५७ रन खर्चदै १ विकेट लिएका थिए।

अब सन्दीपको टोली मोन्ट्रोयलले बुधबार इडमोन्टोन रोयलको सामना गर्नेछ।