सन्दीपले मारे अर्को छलाङ: आईसीसीले दियो सरप्राइज
काठमाडौं– नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अर्को छलाङ मारेका छन् । उनलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सरप्राइज दिएको छ
सन्दीप पहिलो पल्ट नेपालको इतिहासमै ओडिआई वरियता शीर्ष एक सयमा परेका छन् । सन्दीप नेपालबाट शीर्ष एक सय ओडिआई वरियतामा पर्ने पहिलो खेलाडी बनेका छन् ।
आइसिसीले सार्वजनिक गरेको नयाँ ओडिआई वरियताको बलिङतर्फ सन्दीप ९१ औं स्थानमा छन् । सन्दीपभन्दा पछि न्युजिल्यान्डका तीव्र गतिका बलर काइल जेमिसन ९५ औं र वेस्टइन्डिजका ओशान थोमस ९४ औं स्थानमा छन् । ब्याटिङ र अलराउन्डरतर्फ भने नेपालबाट ओडिआई वरीयतामा कुनैपनि खेलाडी छैनन् ।
टि२० आई वरियताको बलिङतर्फ सन्दीप ८१ औं स्थानमा छन् । टि२० आई वरियता ब्याटिङतर्फ युवा ओपनर कुशल भुर्तेल ५९ औं स्थानमा छन् । पूर्वकप्तान पारस खड्का टि२० आईको ब्याटिङतर्फ ८८ औं स्थानमा छन् । कप्तान ज्ञानेन्द्र मल्ल पनि टि२० आई वरियता ब्याटिङतर्फ ९३ औं स्थानमा छन् ।
नेपाल ओडिआई वरियतामा १५ औं र टि२० आई वरियतामा १३ औं स्थानमा छ । ओमान भ्रमणमा रहेका सन्दीपले पपुवा न्युगिनीसँगको दुई ओडिआई खेलमा सानदार बलिङ गरेका थिए । पपुपा न्युगिनीविरुद्ध पहिलो खेलमा ४ विकेट लिएका सन्दीपले दोस्रो खेलमा ६ विकेट लिदै नेपाललाई सहज जित दिलाएका थिए । अमेरिकासँग पहिलो खेलमा सन्दीपले २ विकेट लिएका थिए ।
ओमानसँगको खेलमा भने पेटमा समस्याको कारण सन्दीपले बलिङ गर्न सकेका थिएनन् । ब्याटिङतर्फ ओमानविरुद्ध सन्दीपले १६ रन बटुलेका थिए । सन्दीपले १४ ओडिआई खेलमा ३५ विकेट लिई सकेका छन् । लगातार उत्कृष्ट प्रदर्शनका साथ शीर्ष एक सयमा स्थान बनाएका हुन् ।