के सन्दीप नेपाली खेलाडी भएकाले खेल्न नपाएका हुन् ? - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

के सन्दीप नेपाली खेलाडी भएकाले खेल्न नपाएका हुन् ?



काठमाडौं- नेपाली लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल)मा खेल्न नपाएको बिषयको चर्चा भैरहेको छ । नेपालमा मात्र होइन भारतका मिडियामा पनि यसबारे चर्चा सुरू छ ।

दिल्ली क्यापिटल्समा आबद्ध सन्दीप लामिछाने नेपाली भएकैले प्पानी खेल्न नपाएको कतिपयले चर्चा गरिरहेका छन् । पछिल्लो समय नेपाल र भारतको सम्बन्धमा आएको दरारलाई चर्चा गर्नेहरूले कारणका रूपमा देखाएका छन् । तर क्रिकेटप्रेमीहरू भने यसलाई इन्कार गरेका छन् ।

कतिपयले पाकिस्तानी खेलाडीलाई जस्तै आइपिएलमा बायस गर्न खोजिएको रूपमा अर्थ्याएका छन् । क्यारेबियन लिगमा थोरै खेलमा पनि राम्रो प्रदर्शन गरेर फर्केका सन्दीपलाई राम्रो स्थान दिल्लीले दिने आशा गरिए पनि नतिजा त्यसको ठ्याक्कै उल्टो भएको छ ।

दिल्ली क्यापिटल्सल संयुक्त अरब इमिरेन्ट्स (यूएई) मा जारी यो सिजनको आईपीएलमा सो टोलीले ५ खेल खेलिसकेको छ। तर सन्दीप भने पाँच खेलमै दर्शक मात्रै बनेका छन् ।

दिल्लीका भेट्रान स्पिनरहरू घाइते भएर खेल गुमाउँदा पनि सन्दीपलाई स्थान नदिनुलाई अर्थपूर्ण रूपमा हेर्न सकिन्छ । सन्दीप त्यति कमजोर खेलाडी पनि होइनन । उनी दिल्लीले खेलाएका स्पिनरहरू भन्दा कमजोर पनि छैनन् । अहिले खेलाइएका कतिपय खेलाडीभन्दा सन्दीप अब्बल छन् र पनि उनि खेल्न भने पाएका छैनन् ।

सन् २०१८ मा सन्दीपलाई दिल्लीले न्यूनतम मूल्य ३२ लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको थियो। उक्त सिजनमा सन्दीपले अन्तिम ३ खेलमा ५ विकेट लिँदै राम्रो प्रभाव छाडेपछि सन् २०१९ को संस्करणमा दिल्लीले सन्दीपलाई टोलीमै राख्ने निर्णय गरेको थियो। सन्दीपले सो वर्ष विश्वका चर्चित फ्रेन्चाइज लिगहरुमा उत्कृष्ट प्रर्दशन गर्दै दिल्लीमा नियमित स्थानका लागि बलियो दाबेदारी प्रस्तुत गरेका थिए। तर, सन् २०१९ मा पनि दिल्लीले सन्दीपलाई ६ खेलमा मात्र मौका दियो। जसमा उनले ८ विकेट लिएका थिए।

किन खेल्न पाएका छैनन् सन्दीप ?

सन्दीप यो सिजनमा पनि दिल्लीमै छन्। तर, अहिलेसम्म उनले मैदानमा उत्रिने मौका पाएका छैनन्। सन्दीपले खेल्न नपाउनुको पहिलो कारण हो, दिल्लीसँग पर्याप्त स्तरीय स्पिनर हुनु। अनुभवी अफ स्पिनर रविचन्द्रन आश्विन, अमित मिश्रा र अलराउन्डर अक्षर पटेल दिल्लीमै छन्। तर, मिश्राले औँलाको चोटका कारण बाँकी खेल गुमाउने भएका छन्। आश्विन र अक्षरले भने राम्रो प्रर्दशन गर्दै आएका छन्। सोमबार बेंगलोरलाई पराजित गर्न अलराउन्डर अक्षर पटेलले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिँदै म्यान अफ द म्याच चुनिएका थिए। यदि आश्विन र पटेलले नियमित राम्रो प्रर्दशन गरिरहे सन्दीपले अवसर नपाउन सक्छन।

जारी सिजनमा दिल्लीले सुरुवातमै उत्कृष्ट प्रर्दशन गरेको छ। ५ खेलमा ४ मा जित र १ मा हारसहित दिल्ली शीर्ष स्थानमा छ।

दिल्लीको टोलीमा स्थान पाउन खेलाडीहरुबीच निकै ठूलो प्रतिस्पर्धा छ। आईपीएलमा चार मात्र विदेशी खेलाडी खेलाउन पाइन्छ। सुरुवाती ५ खेलमा दिल्लीले दक्षिण अफ्रिकी तीव्र गतिका बलर कागिसो रबाडा, एनरिच नर्खिया, अस्ट्रेलियाका अलराउन्डर मार्कस स्टोइनिस र वेस्टइन्डिजका ब्याट्सम्यान सिम्रन हेटमायरलाई खेलाउँदै आएको छ। आगामी खेलमा पनि दिल्लीले यी चार खेलाडीलाई नै निरन्तरता दिने देखिन्छ। रबाडा दिल्लीका प्रमुख हतियार हुन्। रबाडा पहिलो रोजाइमा पर्छन्।

सुरुवाती पाँच खेलमा रबाडाले १२ विकेट लिएका छन्। योर्कर बलिङका लागि परिचित उनी डेथ ओभर स्पेलिस्ट मानिन्छन्। दिल्लीसँग उत्कृष्ट भारतीय तीव्र गतिका बलर छैनन्। त्यसैले दुई विदेशी तीव्र गतिका बलर खेलाएको छ। नर्खियाले पनि ७ विकेट लिई स्थान बलियो बनाएका छन्। यता बल र ब्याट दुवैमा अहम् भूमिका खेल्दै आएका मार्कस स्टोइनिस पनि दिल्लीको पहिलो रोजाइमा पर्छन्। उनले ३ विकेट र १ सय २३ रन बनाएका छन् । स्टोइनिसले तल्लोक्रममा आक्रामक ब्याटिङका साथ बेंगलोर र पन्जाबबिरुद्ध अर्धशतक बनाएका थिए। वेस्ट इन्डिजका सिम्रन हेटमायर पनि ठूलो सट खेल्न माहिर मानिन्छन्।

दिल्लीमा भारतीय तीव्र गतिका बलर इशान्त शर्मा, मोहित शर्मा, हर्षल पटेल र आवेश खान छन्। दिल्लीले सुरुवाती पाँच खेलमा यीमध्ये चार बलरलाई प्रयोग गरिसकेको छ। तर, तिनले अपेक्षित प्रदर्शन गर्न सकेका छैनन्। तसर्थ नर्खियाले खराब प्रर्दशन गरेको खण्डमा पनि दिल्लीले अस्ट्रेलियाका तीव्र गतिका बलर ड्यानियल सामलाई खेलाउने छ। दिल्लीको मध्यक्रम बलियो बनाउन सिम्रन हेटमायललाई खेलाउनै पर्ने हुन्छ।

शीर्षक्रमका ब्याट्सम्यान पृथ्वी श, शिखर धवन र श्रेयस ऐयर नचलेको खण्डमा मध्यक्रम कमजोर बन्न जान्छ। त्यसैले मध्यक्रम सम्हाल्ने जिम्मा ऋषभ पन्त र हेटमायरको काँधमा छ। तीव्र गतिमा बलिङ गर्ने स्टोइनिसले ठूलो इनिङ र आक्रामक ब्याटिङ गर्ने गर्दछन्। स्टोइनिसलाई बेन्चमा राख्दा दिल्लीको टोली सन्तुलन बिग्रिन्छ। यसैकारण सन्दीप बेन्चमा बस्नु परेको छ।

दिल्लीले सन्दीपसँगै अस्ट्रेलियाका विकेटकिपर एलेक्स केरी, वेस्ट इन्डिजका अलराउन्डर किमो पल र अस्ट्रेलियाका तीव्र गतिका बलर ड्यानियल सामलाई बेन्चमा राखेको छ।

दिल्लीमा भारतीय उच्च तीव्र गतिका बलर नहुनु, मध्यक्रम र तल्लोक्रममा पनि विदेशी खेलाडीमा निर्भर हुँदा सन्दीपले मौका पाउने सम्भावना कम छ।

नेपालमा चर्चा गरिए जस्तो नेपाली खेलाडीलाई मौका नदिएको अवस्था देखिंदैन ।