दोस्रो क्वालिफायर - सन्दीप लामिछानेको नखेल्ने सम्भावना - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

दोस्रो क्वालिफायर – सन्दीप लामिछानेको नखेल्ने सम्भावना



काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज (शुक्रबार) दोस्रो क्वालिफायर खेल हुँदैछ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली र चेन्नई सुपर किङ्सबीचको खेल हुँदैछ । आज बेलुका पौने ८ बजे हुने खेलमा साविक विजेता टोली चेन्नईलाई पराजित गर्दै दिल्ली इतिहास रच्ने लक्ष्यमा रहेको छ ।

आजको खेलको विजेताले फाइनलमा मुम्बईको सामना गर्नेछ। बुधबार भएको एलिमिनेटर खेलमा सनराइजर्स हैदरावादलाई एक बल बाँकी हुँदा पराजित गर्दै दिल्लीले चेन्नाईसँगको भेट पक्का गरेको थियो। चेन्नाई भने पहिलो क्वालिफायरमा मुम्बईसँग पराजित भएको हो।

दिल्लीका उत्कृष्ट बलर कासिगो रबाडा नहुँदा ऋषभ पन्तले उनको अभाव खड्किन दिएका छैनन्। चेन्नाईका लागि कप्तान महेन्द्रसिंह धोनीको रणनीतिलाई सफल मानिएको छ।

चेन्नाई लिग चरणका दुवै खेलमा दिल्लीलाई पराजित गरेको टिम हो। त्यसैले उसको मनोबल उच्च छ। दिल्ली भने लिग चरणको परिणाम उल्टाएर चेन्नाईलाई जवाफ दिने तयारीमा छ। आज चेन्नाईमाथि जित दर्ता गरे दिल्लीले पहिलो पटक फाइनल पुगेर इतिहास बनाउने छ।

दिल्लीले आजको खेलमा नेपाली स्पिनर सन्दीपलाई खेलाउने सम्भावना कम देखिन्छ। उनी पछिल्ला खेलमा लगातार र प्लेइङ ११ मा पर्न सकेका छैनन्।

आईपीएलको ११ औं संस्करणमा दिल्लीबाट डेब्यू गरेका सन्दीपले १२ औं संस्करणमा ६ खेल खेल्दा ८ विकेट लिएर राम्रो उपस्थिति देखाएका छन्। बलिङ इकोनोमीमा भने उनले सुधार गर्न सकेका छैनन्। ६ खेल खेल्दा उनको बलिङ इकोनोमी ९.१३ छ।

बैंग्लोरविरुद्धको खेल सन्दीपका लागि सबैभन्दा खराब बनेको थियो। त्यसपछि उनले खेल्न पाएका छैनन्। गत सिजन बैंग्लोर विरुद्धकै खेलबाट आईपीएलमा प्रवेश पाएका सन्दीपले तीन खेल खेलेका थिए।