सन्दीप आजको खेलमा मौका पाएनन्, गेल पनि बाहिरै - Himal Post Himal Post
  • १८ माघ २०८२, शनिबार
  •      Sat Jan 31 2026
Logo

सन्दीप आजको खेलमा मौका पाएनन्, गेल पनि बाहिरै



एजेन्सी– नेपाली लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो खेलमा दिल्ली क्यापिटल्सबाट किंग्स इलेभेन पञ्जाबविरुद्ध टोलीको प्लेइङ बाहिर रहेका छन् । पञ्जाबले पनि क्रिस गेललाई बेन्चमा राखेको छ ।

दुबईमा भएको टसमा पञ्जाबका कप्तान लोकेश राहुलले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । दिल्लीका कप्तान श्रेयस ऐरले बुझाएको प्लेइङ ११ मा चार विदेशी खेलाडीमा तीव्र गतिका बलर कागिसो रबाडा, एनरिच नोर्टजे, ब्याट्सम्यान शिम्रन हेटमायर र अलराउन्डर मार्कस स्टोइनिस रहेका छन् ।

सन्दीपलाई भने बेन्चमा राखेको छ । सन्दीप भर्खरै सम्पन्न क्यारेबियन प्रिमियर लिग-सीपिएलका हरेक खेलमा टोलीमा थिए। उनले प्रतियोगितामा ११ खेलमा १२ विकेट हात पारेका थिए।

पञ्जाबका कप्तान लोकेश राहुलले आफ्नो चार विदेशी खेलाडीमा ब्याट्सम्यान निकोलस पूरन, ग्लेन म्याक्सवेल, शेल्डन कटरेल र क्रिस जोर्डन रहेको बताएका छन् । पञ्जाबले राम्रो लयमा रहेका अफगानिस्तानका स्पिनर मुजिब उर रहमान र आक्रामक ब्याट्सम्यान क्रिस गेललाई बेन्चमा राखेको छ ।