सन्दीपले आइपिएल खेल्न पाउने वा नपाउने अझै अन्योल - Himal Post Himal Post
  • १८ माघ २०८२, शनिबार
  •      Sat Jan 31 2026
Logo

सन्दीपले आइपिएल खेल्न पाउने वा नपाउने अझै अन्योल



काठमाडौं- नेपालका स्टार क्रिकेटर लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आइपिएल) खेल्न पाउने वा नपाउने अझै अन्योल बनेको छ ।

आइपिएल खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका उनलाई क्वारेन्टाइनमा राखिएको छ । उनी ट्रिनिडाड एन्ड टोबागोमा भएको क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेलेपछि उतैबाट मंगलबार युएई गएका हुन् ।

सन्दीपलाई अहिले क्वारेन्टाइनमा राखिएको छ । अबको पाँच दिनमा उनको पिसिआर परिक्षण गरिने बताइएको छ । अहिले उनले खेलको पूर्वाभ्यासमा समेत सामेल हुन पाएका छैनन् । एकातिर उनको कोरोना रिपोर्ट के आउँछ भन्ने एकिन छैन भने अर्कोतिर खेलको पूर्वाभ्यास गर्न नपाएकोले खेल्न नपाउने सम्भावना उत्तिकै छ ।

क्वारेन्टिनमा रहदा उनको कोरोना भाइरसको पिसिआर टेस्ट हुनेछ। टेस्ट नेगेटिभ आए मात्र उनले आइपिएल खेल्न पाउनेछन्। यस वर्षको आइपिएल कोरोना महामारीका कारण भारतमा नभइ युएईमा हुँदैछ।

सन्दीपले लगातार तेस्रो वर्ष दिल्ली क्यापिटल्सबाट आइपिएल खेल्दैछन्। आइपिएल आगामी असोज ३ गतेदेखि सुरू हुँदैछ। पहिलो खेलमा सन्दीप नपर्ने लगभग निश्चित भैसकेको छ ।

सन्दीप सम्मिलित दिल्ली क्यापिटल्सको पहिलो खेल असोज ४ गते किंग्स इलाभेन पञ्जावसित हुनेछ।

नियमित उडान बन्द भएको अवस्थामा उनी कोरियन एयरको चार्टर्ड जहाजमा टोबागो गएका थिए।

यस वर्षको सिपिएलका लागि जमैका तलावाजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो। उनले यसअघि दुई पटक सीपीएल खेलिसकेका थिए।

सीपीएलमा सन्दीपले ११ खेलमा १२ विकेट लिएका थिए। उनी सीपीएलमा सर्वाधिक विकेट लिनेको सूचीमा छैटौँ स्थानमा रहेका थिए। सन्दीपको किफायती बलिङको मद्दतमा जमैका सेमिफाइनलसम्म पुगेको थियो।