सन्दीपको अर्को फड्को: १ करोड ३९ लाख मूल्यको ‘द हन्ड्रेड’ भित्र - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

सन्दीपको अर्को फड्को: १ करोड ३९ लाख मूल्यको ‘द हन्ड्रेड’ भित्र



एजेन्सी। नेपालका स्टार क्रिकेटर युवा लेगस्पिनर सन्दीप लामिछाने आगामी वर्ष इंग्ल्यान्ड र वेल्समा हुने ’द हन्ड्रेड’–१०० बलको फ्रेञ्चाइज क्रिकेट प्रतियोगिताको ड्राफ्टमा परेका छन्। आगामी २० अक्टोबरमा हुने खेलाडी छनोटका लागि सार्वजनिक गरिएको ड्राफ्टमा ११ देशका खेलाडी पर्न सफल भएका छन्। ड्राफ्टमा सन्दीपसहित १६५ जना विदेशी खेलाडी छन्।

२० अक्टोबरमा हुने ड्राफ्टमा तलबको आधारमा खेलाडीलाई ७ क्याटागोरीमा वर्गीकरण गरिएको छ। खेलाडीले आफूले नै तलब निर्धारण गरेका थिए। खेलाडीका लागि १ लाख २५ हजार पाउन्ड, १ लाख पाउन्ड, ७५ हजार पाउन्ड, ६० हजार पाउन्ड, ५० हजार पाउन्ड, ४० हजार पाउन्ड र ३० हजार पाउन्ड मूल्य निर्धारण गरिएको छ। एउटा क्याटागोरीबाट १ टिमले २ जना खेलाडी राख्नु पर्ने नियम बनाइएको छ।

जसमा सन्दीपको १ लाख पाउन्ड (१ करोड ३९ लाख ७८ हजार रुपैयाँ) मूल्य छ। सन्दीपसँगै ७ विदेशी खेलाडीले १ लाख पाउन्ड मूल्य राखेका छन्। जसमा हरवजन सिंह, आन्द्रे रसेल, ग्लेन म्याक्सवेल, रासिद खान, सकिब अल हसन, तमिम एकबाल, साहिद अफ्रिदी, ड्वाइन ब्राभो र केइरन पोलार्ड छन्। ’द हन्ड्रेड’ मा बर्मिङघम फोनिक्स, लन्डन स्पिरिट, म्यानचेस्टर ओरिजिन्स, नर्दन सुपरचार्जर्स, ओभल इन्भिसिबल्स, साउदन ब्रेभ, ट्रेन्ट रकेन्स र वेल्स फायर गरी ८ टिमको सहभागिता रहनेछ ।