कान्छी प्रधानमन्त्रीको तयारी: सातामा ४ दिन र दैनिक ६ घण्टा मात्र श्रम अवधि - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

कान्छी प्रधानमन्त्रीको तयारी: सातामा ४ दिन र दैनिक ६ घण्टा मात्र श्रम अवधि



एजेन्सी- नयाँ प्रधानमन्त्रीका कारण फिनल्याण्डमा उत्साह छाएको छ । ३४ वर्षमा त्यहाँको प्रधानमन्त्री बनेर साना मरिन विश्वमै सबैभन्दा कम उमेरकी बहालवाला प्रधानमन्त्री बन्न सफल भइन् ।

उनले नेतृत्व गरेको ५ दलीय सेन्टर-लेफ्ट गठबन्धन सरकारको उच्च स्थानमा महिला नै छन् । मरिनले श्रमिक/कर्मचारीका लागि हप्तामा ४ दिन र दैनिक ६ घण्टा काम गरे हुने व्यवस्था ल्याउने तयारी समेत गरेकी छन् ।

आफ्नो मन्त्रिमण्डलमा महिलाहरुलाई स्थान दिएकोले पनि संसारभर मरिनको चर्चा भइरहेको छ । मरिनको सरकारमा सहभागी ५ दलका नेतृत्वमा समेत महिला नै छन् ।

हप्तामा ४ दिन र दैनिक ६ घण्टा काम गरे हुने व्यवस्थाका लागि हाल मरिनले गृहकार्य गरिरहेकी छन् । हाल फिनल्याण्डमा हप्तामा ५ दिन र दिनमा ८ घण्टा श्रम गर्ने व्यवस्था छ ।

मरिनले प्रधानमन्त्री भएलगत्तै श्रम अवधि घटाएर हप्तामा ४ दिन र दैनिक ६ घण्टा काम गर्नुपर्ने कुरा उठाएकी हुन् ।

यसअघि फिनल्याण्डको छिमेकी मुलुक स्विडेनमा दैनिक ६ घण्टा काम गर्ने व्यवस्था छ । सन् २०१५ मा गोथेनवर्ग शहरका वृद्धाश्रम र हस्पतालमा कार्य अवधि घटाएर ६ घण्टा बनाइएको थियो ।

उक्त व्यवस्थाका कारण २ वर्षपछि कर्मचारी तथा श्रमिकहरु खुसी, स्वस्थ र उत्पादनशील बनेका थिए भने योसँगै सेवाहरु विस्तार भएको र बिरामी समेत सन्तुष्ट बनेका थिए ।

साथै उक्त व्यवस्था लागू भएपछि नयाँ कर्मचारीहरु भर्ती गरिएको थियो जसले गर्दा राजश्व समेत बढेको थियो । त्यस्तै बिरामी विदामा कटौती र बिरामी तथा असक्तका लागि दिइने पेन्सनमा कटौती र बेरोजगारीको दर कम हुँदा पैसा बचत भएको थियो ।

स्विडेनका केही टेक कम्पनीमा समेत ६ घण्टे श्रमअवधि लागू गरिएको छ । अटोमोबाइल उत्पादक टोयोटामा यो व्यस्था प्रभावकारी भएको थियो । श्रम अवधि घटाउँदा टोयोटाका कर्मचारी र श्रमिकहरु सन्तुष्ट र उत्साहित बनेका मात्रै थिएनन् । उनीहरुले उत्पादनशीलता समेत वृद्धि भएको थियो ।

यस्तो व्यवस्था प्रभावकारी हुनुमा २ वटा कारण थिए । पहिलो, अनावश्यक र लामो समयसम्म गर्नुपर्ने बैठक निरुत्साहित गरिएको थियो वा यस्ता बैठकलाई थप प्रभावकारी बनाइएको थियो । दोस्रो, सामाजिक सञ्जाल तथा इन्टरनेट सर्फिङमा खर्चिने समय समेत कम भएको थियो ।

श्रम अवधि घटाउँदा श्रमिकहरु काममा बढी केन्द्रित हुने गर्छन् । उनीहरूसँग घर फर्केपछि परिवार, साथीभाइ र आफ्नो रुचि अनुसारको काम गर्ने समय हुन्छ ।

मरिनले समेत स्विडेनमा झैं कार्यअवधि ८ घण्टाबाट ६ घण्टामा झार्न गृहकार्य गरेकी हुन् ।

साना मरिनले सोसल डमोक्रेटिक पार्टीको १२० औं वार्षिकोत्सवमा यातायात तथा सञ्चार मन्त्रीको हैसियतमा भनेकी थिइन्-

‘हप्तामा ४ दिन र दैनिक ६ घण्टा श्रम अवधि । यसलाई हामीले आगामी कदम बनाउन सक्छौं त ? ८ घण्टा नै काम गर्नुपर्छ भन्ने अन्तिम सत्य हो र ? मानिसहरुले आफ्नो परिवार, प्रियजन, रुचि, जीवनका अन्य सांस्कृतिक क्षेत्रका लागि थप समय दिनुपर्छ ।

यो कुरालाई ध्यान दिँदै मानिसको श्रम जीवनमा परिवर्तन गर्नुपर्छ, यसलाई हामीले आगामी कदमको रुपमा अघि सार्नुपर्छ ।’