ओलीले यी सर्त पुरा नगरे नेपाल समूहको सामुहिक राजिनामा नरोकिने
काठमाडौं- नेकपा एमालेको माधव नेपाल समूहले आफ्ना मागको विषयमा केपी ओली समूहसँग कुनैपनि हालतमा पछाडी नफर्कने निष्कर्ष निकालेका छन् । शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले सो निष्कर्ष निकालेको हो ।
नेपाल समुहले तीन बटमलाइन ओली समूहसमक्ष अघि सारेको छ । यी बटमलाइन पुरा नभएको खण्डमा तत्काल राजीनामाको विकल्पमा जाने बताइएको छ । ओली समुहले फेरि पनि बेइमानी भएको खण्डमा विश्वासको मत लिनु अघि नै राजिनामा दिने बताएका छन् ।
उनीहरूले अगाडी सारेका तीन बटमलाइन यस्ता छन्
पहिलो: २०७५ जेठ २ को स्थायी कमिटी बैठक बोलाउने
नेपाल समूहको तीन बटमलाइन अन्तर्गत पहिलो २०७५ जेठ २ गतेको स्थायी कमिटी बैठक बोलाउनुपर्ने माग अघि सारेका छन् । नेपाल समूहले जेठ २ गते अघिको कमिटी संरचनामा फर्कनुपर्ने माग राख्दै आएको छ ।
बिहीबार एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीचको भेटवार्तामा त्यही संरचनामा कसरी फर्कने भन्ने तय गर्नका लागि कार्यदल बनाउने सहमती भएको थियो ।
एकीकृत पार्टी बनाउने
नेपाल समूहले ओली पक्ष एकताका लागि नै लचिलो भएको भए आफूहरु पनि त्यही अनुसार अघि बढ्ने निष्कर्ष निकालेको छ । बैठकमा कतिपय नेताहरुले ओलीले झुक्याउन खोजेको भन्दै नेता नेपाललाई खबरदारी समेत गरेका थिए ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुअघि नै पार्टीलाई एकीकृत बनाइसक्नुपर्ने खनाल-नेपाल समूहको अडान छ । स्रोतका अनुसार ओलीले छिट्टै नै विश्वासको मत लिने तयारी गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार ओलीले ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्छ ।
नभए राजीनामा दिने
खानल–नेपाल समूहले ओलीले झुक्काएको सावित भएमा संसदमा विश्वासको मत लिनुअघि नै राजीनामा दिने पनि निष्कर्ष निकालेको छ । सांसदहरुले सामूहिक राजीनामा दिने तय गरेको उक्त समूह हिजो भएको वार्तापछि पछि हटेको थियो ।
नेता नेपालले वार्तास्थलबाट बाहिरिँदै राजीनामा दुईचार दिनको लागि टरेको प्रतिक्रिया दिएका थिए । तर, पार्टी एकताका लागि आफूहरुको माग सम्बोधन नभए राजीनामा दिने समेत उक्त समूहको योजना छ ।