भारतको पूर्वी तटतिर बढ्दै समुद्री आँधी फानी - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

भारतको पूर्वी तटतिर बढ्दै समुद्री आँधी फानी



काठमाडौं– शक्तिशाली समुद्री आँधी फानीले भारतको तटवर्ती राज्य ओडिशामा आज शुक्रबार प्रहार गर्दैछ।

बङ्गालको खाडीमा बनेको सो समुद्री आँधी झन्डै २ सय किलोमिटर प्रतिघण्टाको वेगले अघि बढिरहेको छ।

आँधीको प्रभावले त्यहाँ वर्षा हुन थालिसकेको छ। भारतको मौसम विभागका अनुसार स्थानीय समयानुसार मध्याह्न १२ बजेभित्र फानीले ओडिशाको पुरीमा हान्नेछ।

फानीको सम्भावित मार्गमा पर्ने स्थानबाट झन्डै आठ लाख मानिसलाई सुरक्षित स्थानमा सारिँदै गरेको अधिकारीहरूले बताएका छन्।

नेपालको मौसम पूर्वानुमान महाशाखाले सो समुद्री आँधी नेपालनजिकै पूर्वोत्तर भारतबाट बाङ्ग्लादेशतिर जाँदा कमजोर हुने भए पनि त्यसको केही प्रभाव नेपालमा पर्न सक्ने बताएको छ।

ओडिसाको तटीय क्षेत्रमा बिहीवार रातिदेखि विमान उडान र रेलसेवा बन्द गरिएको छ।

समुद्री आँधीबाट प्रभाव पर्ने स्थानका दुईवटा ठूला बन्दरगाह पनि बन्द गरिएको छ।

हजारौँ उद्धारकर्मीहरूले तल्लो भेगका मानिसहरूलाई जोखिम भएका स्थानबाट अन्यत्र जान सहयोग गरिरहेका छन्।

आन्ध्र प्रदेश र तामिलनाडूमा उच्च सतर्कता अपनाइएको छ। सन् २०१७ मा त्यस क्षेत्रमा आएको समुद्री आँधीका कारण २०० जनाको ज्यान गएको थियो।