सांसदहरूका लागि बजेट छुट्याउनु पर्छ : नेता पौडेल - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

सांसदहरूका लागि बजेट छुट्याउनु पर्छ : नेता पौडेल



काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले सांसदहरूलाई विकासका काममा सहभागी गराउनुपर्ने धारणा राखेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सहभागीता जनाउँदै पौडेलले घुमाउरो पारामा सांसदहरूका लागि बजेट छुट्याउनुपर्ने माग गरेका हुन् ।

पौडेलले घुमाउरो पाराले सांसदका लागि बजेट छुट्याउनुपर्ने धारणा राखे । नेकपाका नेताहरूले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमका लागि दिइँदै आएको ४ करोड रकम बढाएर १० करोड बनाउनुपर्ने तथा निर्वाचन क्षेत्र विकास कोषको रकम कम्तिमा एक करोड बनाउनुपर्ने धारणा राख्दै आएका छन् । यो कुरालाई पौडेलले पनि आफ्नो माग बनाएका हुन् ।

पौडेलले भने, ‘विकास प्रयासमा जनप्रतिनिधिको भूमिकालाई स्थापित गर्न जरुरी छ । विकास र जनप्रतिनिधि एकअर्कासँग आबद्ध हुनुपर्दछ । विकास र जनप्रतिनिधि एकअर्कासँग अन्योन्याश्रित हुनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्नुपर्छ ।’

मन्त्री खतिवडालाई विशेष आग्रह गर्दै पौडेलले अगाडि भने,‘यस अर्थमा माननीय मन्त्रीज्यूले विकासका अभियानहरूमा जनप्रतिनिधिहरू प्रतिनिधिसभा, राष्ट्रियसभा लगायत सबै तहका जनप्रतिनिधिहरूको घनिष्ट सहकार्य हुने खालको अनुकूल प्रबन्ध गर्नुहुनेछ भन्ने अपेक्षा गर्न चाहन्छु । त्यस हिसाबले सुझाव दिन चाहन्छु ।’