'फ्लोर क्रस' गर्ने डरले सांसदहरूलाई रिसोर्टमा राखियो - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

‘फ्लोर क्रस’ गर्ने डरले सांसदहरूलाई रिसोर्टमा राखियो



काठमाडौँ- मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको दर्ता गरेका दलहरूले आफ्ना सांसदहरूलाई सुविधासम्पन्न रिसोर्टमा राखेका छन् । सांसदहरूले फ्लोर क्रस गर्ने डरले रिसोर्टमा राखिएको बताइएको छ ।

सोमबार मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा सांसदहरूले फ्लोर क्रस गर्ने आशंकामा दलहरूले आफ्ना सांसदलाई सुविधासम्पन्न रिसोर्टमा राखिएको हो । मुख्यमन्त्री गुरुङविरुद्ध प्रतिपक्षी दल नेपाली कांग्रेस, केही समयअघिसम्म सत्ता साझेदारी दल रहेका नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले आफ्ना सांसदलाई मंगलबारदेखि रिसोर्टमा राखेको हो ।

उनीहरुमध्ये कांग्रेस र माओवादीका सांसदहरू लेकसाइडस्थित कुटी रिसोर्टमा छन् भने जसपाले कुटी नजिकैको अर्को एक होटलमा आफ्ना सांसदहरूलाई राखेको छ । मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकाहरूको संख्या नघटोस् भनेर सांसदहरूलाई एकै ठाउँमा राखिएको एक प्रदेशसभा सदस्यले जानकारी दिए ।

एमालेका तर्फबाट मुख्यमन्त्री रहेका गुरुङविरुद्ध नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ सांसद गरी २८ जनाले गत २ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । गण्डकीमा नेकपा एमालेका २७ सांसद छन् ।

गण्डकी प्रदेशसभाको विशेष अधिवेशनमा सोमबार मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव टेबुल भएको थियो । नयाँ मुख्यमन्त्रीको रुपमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई प्रस्ताव गरिएको छ ।