सांसदहरूलाई कोरोना संक्रमण, के हुन्छ संसद बैठक ? - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

सांसदहरूलाई कोरोना संक्रमण, के हुन्छ संसद बैठक ?



काठमाडौं- प्रतिनिधिसभाका २१ सांसदलाई कोरोना संक्रमण पुष्टि भएपछि नजीकिंदै गरेको संसद बैठक के होला भन्ने सबैको चासोको विषय बनेको छ ।

विश्वासको मत लिने प्रयोजन साथ् प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारका लागि आह्वान गरेको संसद्को बिशेष अधिवेशनअघि गरिएको कोरोना परीक्षणमा सांसद सहित संसद सचिवालयका धेरै कर्मचारीहरूलाई कोरोना पोजेटिभ देखिएको छ।

बैठकमा कोरोना संक्रमण भएका सांसदहरुलाई पनि उपस्थित गराउनेबारे छलफल चलिरहेको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताएका छन् । संसद् बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने र त्यही बैठकमा नेताहरुको सुझावका आधारमा सभामुखले कसरी व्यवस्थापन गर्ने भन्नेबारेमा निर्णय लिने बताइएको छ ।

कोरोना संक्रमण देखिएका सांसदहरुलाई पनि व्यवस्थापन गरेर ल्याउनुपर्ने बिषयमा छलफल भैरहेको बताइएको छ । संक्रमित सांसदलाई कसरी संसदमा मतदानको लागि ल्याउने भन्नेबारेमा सभामुख अग्निप्रसाद सापकोटाले पनि विभिन्न कोणबाट परामर्श लिइरहेको बताइएको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकपछि कसरी बैठकमा ल्याउने भन्नेबारेमा सभामुखले निर्णय गर्ने उनको सचिवालयले जनाएको छ । अर्को कोठाको व्यवस्था गरेर भएपनि संक्रमित सांसदहरूलाई उपस्थित गराउनैपर्ने कांग्रेसले बताएको छ ।

कोरोना संक्रमण भएका सांसदलाई सुरक्षा सावधानीका साथ स्वास्थ्य मापदण्ड पालना गरेर बैठकमा सहभागी गराउनुपर्ने कांग्रेसको माग छ ।

संसद् सचिवालयमा गरेको परीक्षणमा शनिबारसम्म २१ सांसदमा कोरोना देखिएको छ। कोरोना संक्रमित हुनेमा सबैभन्दा धेरै सांसद सत्तारुढ नेकपा एमालेका छन्।

यसअघि नै पूर्वप्रधानमन्त्री समेत रहेका झलनाथ खनाल, मन्त्रीहरु भानुभक्त ढकाल, टोपबहादुर रायमाझीलगायत कोरोना संक्रमित भएर उपचाररत छन्।