मात्रिकाले ओलीको मानसिक सन्तुलन खल्बलियो भनेपछि संसदमा हङ्गामा - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

मात्रिकाले ओलीको मानसिक सन्तुलन खल्बलियो भनेपछि संसदमा हङ्गामा



काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद मात्रिका यादवले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यलाई लिएर टिप्पणी गरेपछि संसद्मा हङ्गामा भएको छ । यादवले ओलीको मानसिक सन्तुलन खल्बलिएको भनेपछि संसदमा हङ्गामा भएको हो।

यादवले यादवले प्रतिनिधि सभा पुनःस्थापना र वर्तमान सरकारलाई परमादेश परमादेश भन्नेको मानसिक सन्तुलन खल्बलिएको टिप्पणी एमाले संसदले नियमापत्ति जनाएका छन् ।

बिहीवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा यादवले नेकपा छँदै ओलीको शारीरिक र मानसिक स्वास्थ्यका बारे आफूले स्थायी कमिटी बैठकमै कुरा उठाएको बताएका हुन् ।

‘यो परमादेश भयो, परमादेशको सरकार भन्ने पूर्व प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर चुनाव लडेर आउन सुझाव दिन्छु । यो सरकाले ६ महिनामा चुनाव गराइदिन्छ । जसलाई परमादेशले आएको लागेको छ राजीनामा दिए हुन्छ । परमादेश भन्ने जनादेशको अपमान गर्ने ?’ यादवले भने, ‘जे मन लाग्यो त्यही बोल्ने सदनमा आएर ? अपमान गर्ने ?’

यादवले अस्वस्थ व्यक्तिलाई मुलुक जिम्मा लगाउँदा दुर्घटना भएको टिप्पणी गरे । ‘एउटै पार्टी हुँदा अध्यक्ष प्रचण्डलाई भेनेको थिएँ, मैले स्थायी कमिटीको बैठकमै भनेको थिएँ– उहाँ मेन्टल्ली पनि, फिजिकल्ली पनि ठीक हुनुहुन्न, उहाँलाई जिम्मेवारीको भारी किन बोकाउनुहुन्छ ? जहाज उडाउँदा त पाइलटको स्वास्थ्य चेक हुन्छ, देशकै जहाज उडाउन दिएपछि दुर्घटना हुँदैन ? अहिले कहाँ पुगिरहेको छ ?’ यादवले भने ।

यादवले हुटिट्याउँले आकाश थामेजस्तै लोकतान्त्रिक गणतन्त्र आफैँले थामेको भ्रम नपाल्न ओलीलाई सुझाव दिए । ‘एउटै टेपमा बोलेजस्तै सबैले परमादेश परमादेश भनेको छ, जसको मेन्टल्ली बिग्रेको छ, त्यसले परमादेश भन्छ, सबैले भन्दैन,’ यादवले भने ।

यादवले बोलिरहेको समयमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले नियमापत्ति गरेका थिए । बैठकको अध्यक्षता गरेका एमाले सांसद घनश्याम खतिवडाले यादव बोलेपछि समय दिन्छु भन्दै भट्टराईलाई रोके ।

यादव बोलेलगत्तै भट्टराईले यादवको अभिव्यक्ति अमर्यादित रहेको भन्दै संसद्को रेकर्डबाट हटाउन माग गरे । उनले व्यक्तिको मानसिक स्वास्थ्यको कुरा उठाउने विषय एमालेलाई कुनै हालतमा स्वीकार्य नहुने बताए ।

‘भर्खरै बोल्ने माननीयले व्यक्तिप्रति इंगित गरेर मानसिकता खराब भएको, मेन्टल्ली डिसअर्डर भएको भन्ने कुरा बारम्बार उच्चारण गर्नुभयो, त्यो भन्ने अधिकार उहाँलाई कहाँबाट प्राप्त भयो ? के तथ्य र प्रमाणको आधारमा यो कुरा गर्नुभयो ?’ भट्टराईले भने, ‘जनताको सार्वभौमसत्ता प्रयोग हुने मर्यादित ठाउँमा यस खालका अमर्यादित अभिव्यक्ति आपत्तिजनक छन् । यो संसद्को रेकर्डबाट हटाइयोस् । अन्यथा एमालेले यो कुरालाई कुनै हालतमा सहँदैन ।’

भट्टराईको नियमापत्तिबारे बैठकको अध्यक्षता गरिरहेका खतिवडाले ध्यानाकर्षण भएको बताए । कुनै व्यक्तिको स्वास्थ्यलाई लिएर संसद्मा यस्ता शब्द बोल्न नपाइने नियमावलीको व्यवस्था छ ।