संसदमा कांग्रेसको नयाँ रुप - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

संसदमा कांग्रेसको नयाँ रुप



काठमाडौं । कांग्रेसले संविधानविपरीतका प्रावधान समेटिएका विधेयक फिर्ता नलिए संसद्‌मा त्यसविरुद्ध कडा प्रतिरोध गर्ने जनाएको छ । त्यसका लागि आफ्ना सांसदसँग छलफल गर्न बुधबार संसदीय दलको बैठक बोलाएको छ । जागरण अभियानमार्फत सरकारका असंवैधानिक कामकारबाहीको विरोध गर्दै आएको कांग्रेसले सदन तताउने तयारी गरेको हो ।

संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधानविपरीत प्रस्ताव गरिएका मिडिया काउन्सिल विधेयक, मानवअधिकार आयोग विधेयक र राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक फिर्ता नलिए संसदमा प्रतिरोध गर्ने बताए।

‘तीनवटै विधेयक संविधानका प्रस्ताव र भावनाविपरीत छन्, यिनलाई फिर्ता लिएर संविधानअनुकूल बनाउन सरकारलाई हाम्रो आग्रह छ,’ उनले भने, ‘संविधानविपरीत प्रावधान राखेर बलजफ्ती लैजाने प्रयास भए हामी पनि चुप लागेर बस्दैनौं।’ संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे बुधबार बस्ने संसदीय दल बैठकले औपचारिक धारणा बनाउने उनले बताए।

मिडियाको स्वायत्तता र स्वतन्त्रतामाथि अंकुश लगाउने गरी ल्याइएको विधेयक फिर्ता लिन कांग्रेसले सरकारलाई आग्रह गरिसकेको छ। सभापति शेरबहादुर देउवाले प्रस्तावित विधेयकलाई मिडियामाथि ‘कु’ को संज्ञा दिँदै त्यसलाई कुनै पनि हालतमा फिर्ता गराएरै छाड्ने बताएका थिए।

मिडियामा जस्तै मानवअधिकार आयोगको स्वतन्त्रता र अधिकारलाई समेत खुम्च्याउन खोजेको कांग्रेसको आरोप छ। राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकमार्फत सुरक्षा परिषदको भूमिकालाई निस्तेज पार्न खोजिएको कांग्रेसको आरोप छ। कान्तिपुरबाट