संसदमा चर्चा: सल्लाहकारबाटै प्रधानमन्त्रीलाई खतरा भयो
काठमाण्डाै – नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले प्रधानमन्त्री ओलीलाई सिध्याउने खेल उनकै सल्लाहकारहरूले गरेको बताएका छन् । पन्थले अनावस्यक र भ्रामक समाचार देखाउने र सुनाउने गरेर प्रधानमन्त्रीकै सल्लाकारले उनलाई विवादित बनाउन खोजेको आरोप समेत लगाए ।
हाच्छिउँ गरेर कोरोना निको हुने भए १० अर्ब खर्च किन गरियो भन्ने प्रश्न गर्दै उनले सचिवालय र सल्लाहकारले प्रधानमन्त्रीलाई खतरामा पारेको र छबी सिध्याउने खेलमा लागेको आरोप लगाए ।
प्रधानमन्त्रीले बेला बेला भ्रामक सार्वजनिक अभिव्यक्ति दिने गरेको उल्लेख गर्दै उनले हाच्छिउँ गर्दा कोरोना निको हुने भए किन लकडाउन गरियो भने । प्रधानमन्त्री ओलीका सल्लाहकारहरुले उनलाई भ्रममा पारेको समेत उनले बताए । पुष्टि नै नभएका कुराहरु सल्लाहकारहरुले प्रधानमन्त्रीलाई सुनाएर संसदबाट समेत प्रधानमन्त्री ओलीले जनतालाई भ्रममा पारेको बताए ।
उनले भने, ‘कसले झुठा कुरा गरेर प्रधानमन्त्रीलाई भ्रममा पार्नुभयो ? पुष्टि नभएका खबरहरु कसले प्रधानमन्त्रीज्यूलाई सुनाउँछ ? हाच्छिउँ–साच्छिउँ गरेर कोरोना जाने भए, लकडाउन किन गरिएको हो ? १० अर्ब किन खर्च गरिएको हो ?’
पालिकाका जनप्रतिनिधिहरुले अहिले पनि सङ्घ र प्रदेश सरकारबाट कुनै सहयोग नपाएको गुनासो गरिरहेको उनले बताए । लामो समयदेखि आरडीटी परीक्षण बन्द गर्न सरकारलाई आग्रह गर्दा पनि नमानेको भन्दै उहाँले आरडीटी परीक्षण तत्काल रोकेर पीसीआरको दायरा बढाउनुपर्ने बताए ।
अत्यावश्यक स्वास्थ्य सामग्रीकाे तत्काल आपूर्ति गरी, पालिकामा बनेका क्वरेण्टीनहरुलाई मापदण्ड अनुसार व्यवस्थापन गर्न आग्रह गरे । सरकारले संविधानमा भएका कतिपय राजनीतिक सहमति विपरीत विधेयकहरु ल्याउने गरेको भन्दै उनले राजनीतिक सहमतिहरु नतोड्न पनि आग्रह गरे ।