'संसद अन्त्यमा पनि देउवाको साथ्, नयाँ बन्ने सरकारबारे पनि छलफल' - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

‘संसद अन्त्यमा पनि देउवाको साथ्, नयाँ बन्ने सरकारबारे पनि छलफल’



काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले पार्टी विभाजन भएका अवस्थामा सत्ता सहयोगका लागि आफूसँग आग्रह गरेको जानकारी दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेका केन्द्रीय कार्यसमिति बैठकमा उनले प्रधानमन्त्री ओली र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग भएको भेटका बारेमा जानकारी दिएका हुन् ।

असार १७ गते प्रधानमन्त्री ओलीसँग भेटको वातावरण भने केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले तय गरेको जानकारी पनि उनले दिएका छन् ।

सभापति देउवाले नेकपा संसदीय दलका उपनेता नेम्वाङसँग भने संवैधानिक अंगका रिक्त पद, एमसीसी, नागरिकता विधेयकका बारेमा छलफल भएको जानकारी गराएका हुन् ।

बैठकमा केन्द्रीय सदस्य डा. रिजालले नेकपा संसदीय दलका उपनेता नेम्वाङसँग भएको भेटवार्ताका बारेमा थप जानकारी गराएका थिए ।

नेकपाभित्रको सत्ता संघर्ष चरमोत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओली र देउवा तथा देउवा र नेम्बाङबीचको भेटवार्ताले राजनीतिक बजारमा सनसनी मच्चाइरहेको छ ।

केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले ओलीसँगको भेट र सत्ता सहकार्यसम्बन्धमा आएका समाचारबारे प्रष्ट गर्न भनेपछि देउवाले बैठकमा यसबारेको जानकारी दिएका हुन् ।

ओलीले सहयोग मागेको र आफूले गणतन्त्रलाई नै खतरामा पार्नेगरी जाने भए मान्य नहुने तर अरु सहयोगका लागि भने पार्टीमा सल्लाह गरेर निर्णय गर्ने बताएको उनले बैठकलाई जानकारी दिए ।

नेकपा नेता नेम्वाङले केन्द्रीय समिति बैठकमा संसद स्थगितको विषयलाई नचर्काइदिन आफूसँग आग्रह गरेको देउवाको भनाइ थियो ।

बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको महाधिवेशन कार्यतालिकाकाको बारेमा प्रस्ताव राख्नु भएको छ ।