प्रधानमन्त्री र आठ मन्त्रीको सम्पत्ति किन राखियो गोप्य ?
भदौ २३, काठमाडौं-
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको जम्बो मन्त्रिपरिषद्का कुनै पनि सदस्यले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन ।
नैतिकतामा प्रश्न
तीन महिनासम्म पनि सम्पत्ति विवरण सार्वजनिक नगरेपछि प्रधानमन्त्री देउवा र उनका मन्त्रिमण्डलका सदस्यमाथि नैतिकता र सदाचारका विषयमा प्रश्न सिर्जना भएको छ । प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सम्पत्ति गोप्य राख्ने प्रयास गरेको पाइएको छ ।
६० दिनभित्र बुझाउनुपर्ने
भ्रष्टचार निवारण ऐन २०५९ अनुसार सार्वजनिक पद धारण गरेका हरेक व्यक्तिले नियुक्ति भएको ६० दिनभित्र आफू र आफ्नो परिवारको नाममा रहेको सम्पत्ति विवरण तोकिएको निकायमा अनिवार्य रूपमा बुझाउनुपर्ने प्रावधान छ । नियुक्तिको १५ दिनभित्रै उनीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्ने परम्परा रहँदै आएको छ ।
बुझाएर पनि गोप्य राख्ने को-को ?
देउवा मन्त्रिपरिषद्मा पछिल्लो पटक थपिएका १९ जना मन्त्री र २३ जना राज्यमन्त्रीमध्ये अधिकांशले त सम्पत्ति विवरणसमेत नबुझाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
सम्पत्ति विवरण बुझाएर पनि गोप्य राख्नेमा,
-प्रधानमन्त्री देउवा
-उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा
-उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ
-उपप्रधानमन्त्री तथा संघीय मामिला र स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार
-गृहमन्त्री जनार्दन शर्मा
-अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की
-श्रममन्त्री फरमुल्हा मन्सुर र
-सहरी विकासमन्त्री प्रभु शाह छन् ।
प्रधानमन्त्री देउवासहित सुरुमा नियुक्त भएका सात मन्त्रीले सम्पत्ति विवरण पनि निकै ढिलो गरी बुझाएका थिए । तर, सम्पत्ति विवरण बुझाए पनि उनीहरूको सम्पत्ति गोप्य राखिएको छ भने सार्वजनिक गर्न कुनै पहल थालिएको छैन ।
आजको अन्नपूर्ण पोस्टमा खबर छ ।