सम्पदा पुनर्निर्माण ठेक्काको विरोध - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

सम्पदा पुनर्निर्माण ठेक्काको विरोध



काठमाडौँ, माघ २९

काठमाडौँ हनुमानढोका परिसरका मठमन्दिर पुनर्निर्माणका लागि ठेक्कामा दिने सरकारी नीतिको स्थानीयवासीले विरोध गरेका छन् ।  दुई दर्जनभन्दा बढी स्थानीय सङ्घसंस्थाले शुक्रबार महादेव पार्वती डबलीमा अन्तक्र्रिया आयोजना गरेर सम्पदा पुनर्निर्माणमा ठेक्का प्रथाको विरोध गरेका हुन् ।

कार्यक्रममा वसन्तपुर क्षेत्र वरपरका टोलका विभिन्न क्लब, सङ्घसंस्थाका प्रतिनिधिले विश्व सम्पदा सूचिमा समावेश भएको दरबार स्क्वायर क्षेत्रका सम्पदा विदेशीलाई बनाउन दिन नहुने, स्थानीयवासीको सहभागितामा नेपालीले नै बनाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले सम्पदा अमानतमा बनाउन पाए अति उत्तम हुने धारणा राख्दै त्यसका लागि हाल प्रचलनमा रहेको कानुन संशोधन गर्नुपर्ने बताउनुभयो ।  कार्यक्रममा पुरातत्वविद् साफल्य अमात्यले स्थानीयवासीको जनभावना अनुसार स्थानीय बासिन्दालाई सहभागी गराएर सम्पदा निर्माण अगाडि बढाइनुपर्ने बताउनुभयो ।

काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष वीरेन्द्रभक्त श्रेष्ठले ठेक्का प्रथाले सम्पदा ठडिन्छ तर त्यसमा आत्मा भर्न सकिँदैन भन्नुभयो ।  सम्पदा संरक्षण सङ्घर्र्ष समितिका सदस्य गणपतिलाल श्रेष्ठले दरबार क्षेत्रका कुनै पनि सम्पदा निर्माण गर्दा स्थानीयवासीले प्रत्यक्ष देख्ने गरिनुपर्ने, निर्माण कार्यमा स्थानीयवासीलाई सहभागी गराउनुपर्ने, स्थानीय बेरोजगार युवाले ती काममा रोजगारी पाउनुपर्ने धारणा राख्नुभयो ।