सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश नं. ७ को पहिलो महाधिवेशन टीकापुरमा सुरु - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश नं. ७ को पहिलो महाधिवेशन टीकापुरमा सुरु



लिला जङ्ग शाही / टीकापुर ।

सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश नं. ७ को पहिलो महाधिवेशन शुक्रबारदेखि टीकापुरमा सुरु भएको छ ।

‘वनको दीगो व्यवस्थापनका लागि सामुदायिक अधिकार, उद्यमशीलता र सशक्त संगठन सम्बृद्धिको आधार’ भन्ने मूल नाराका साथ सामुदायिक वन दिवसको अवसर पारेर भएको उक्त कार्यक्रमको प्रमुख अतिथि एवम् प्रदेश नं. ७ का सामाजिक विकासमन्त्री दीर्घ सोडारीले सामुदायिक वनकै नेतृत्व गर्दै आएका व्यक्तिहरु नै अहिले निर्णायक तहमा पुगेको भन्दै अब बन्ने नियम कानूनमा ती निर्णायक व्यक्तिहरुको भूमिका महत्वपूर्ण रहने बताएका छन् ।

‘सामुदायिक वनको नेतृत्वबाटै विशेषगरी महिलाहरु निर्णायक तहमा पुगेका छन् । महिलाहरुलाई नेतृत्व विकासको क्षमतामा सामुदायिक वनले नै प्रश्रय दिएको हो ।’ मन्त्री सोडारीले भने, ‘अब सामुदायिक वन सम्बन्धी बनिरहेका नीति नियममा महत्वपूर्ण भूमिका उहाँहरुको नै रहने छ ।’

कार्यक्रममा प्रमुख अतिथि सोडारीले प्राकृतिक स्रोत व्यवस्थापनलाई स्थानीय तहदेखि प्रदेश तहसम्म के कस्तो भइरहेको छ, त्यसको बारेमा अधिवेशनले लेखाजोखा राखी सुझाव सल्लाह र प्राकृतिक स्रोत व्यवस्थापनलाई जीवनोपयोगी बनाउने भन्ने कुरातर्फ महासंघ लाग्नुपर्नेमा जोड  दिएका छन् ।

त्यसैगरी, विशिष्ट अतिथि एवम् उद्योग, पर्यटन तथा वन वातावरण मन्त्री माया भट्टले राजनीतिक क्रान्तिभन्दा पनि समाजमा आर्थिक क्रान्ति आवश्यक रहेको भन्दै प्रदेश सरकारलाई घचघच्याउने र सुझाव सल्लाह दिनसक्ने नेतृत्व चयन गर्न सुझाव दिएकी छिन् ।

मन्त्री भट्टले राजनीति परिवर्तनका लागि गरिने भन्दै कसैको अधिकार कुण्ठित हुने गरी प्रदेश सरकारले नियम कानून नबनाउने कुरामा विश्वस्त रहन आग्रह गरेकी छिन् ।
‘कसैको अधिकार कुठिण्त हुने गरी कुनै नियम कानून बनाइने छैन । ५७ प्रतिशत भूभाग ओगटेको प्रदेश नं. ७ को सामुदायिक वनलाई एकताबद्ध ढंगबाट अगाडि बढाउने छौं ।’ मन्त्री भट्टले भनिन्, ‘राम्रो काममा अब
राजनीति हुने छैन । सहयोग र साथ भने सबैको अपरिहार्य रहनेछ ।’

सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश नं. ७ का सह–संयोजक शेरबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा मन्तव्य राख्दै टीकापुर नगरस्तरीय महासंघका अध्यक्ष श्याम खत्रीले परिवर्तित समयानुकूल नियम कानूनहरु पनि परिवर्तन गर्नुपर्ने भन्दै सामुदायिक वनहरुलाई मान्य हुने कानून ल्याउन प्रदेश सरकारसँग माग गरेका छन् ।

महासंघकी डडेलधुरा जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य कमला बिष्टले स्वागत गरेको कार्यक्रमको सञ्चालन नेत्र खनालले गरेका थिए । सामुदायिक वन उपभोक्ता महासंघको प्रदेश स्तरीय पहिलो अधिवेशनले नयाँ कार्य समिति समेत चयन गर्नेछ ।