आइतबार संसद् भवन घेराउ गर्ने तयारी, हिंसा रोक्न सरकारको सर्कुलर - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

आइतबार संसद् भवन घेराउ गर्ने तयारी, हिंसा रोक्न सरकारको सर्कुलर



काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहितका आधा दर्जन दलहरूले मिलेनियम च्यालेन्ज कम्प्याक्ट(एमसीसी) खारेजीको माग गर्दै संसद् भवन घेराउ गर्दै छन् ।

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्ध नगरमा ६ कम्युनिस्ट पार्टी र दुई वटा मोर्चाको बैठकले एमसीसी विरुद्धको सङ्घर्ष गम्भीर मोडमा पुगेको निष्कर्ष निकाल्दै आइतबार माइतीघर मण्डलाबाट विरोध प्रदर्शनसहित नयाँ वानेश्वर स्थित संसद् भवन घेराउन गर्ने निर्णय गरेको छ ।

साथै देशव्यापी रूपमा सबै जिल्लामा व्यापक विरोध प्रदर्शन सहित जिल्ला प्रशासन कार्यालय घेराउ गर्नेसमेत उनीहरूले जनाएका छन् ।

विप्लव नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी (माओवादी), ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, कणर्जित बुढाथोकी नेतृत्वको समाजवादीले संयुक्त रूपमा विरोधका कार्यक्रम तय गरेका हुन् । यसमा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा र मसालको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चा पनि संलग्न छन् ।

यसअघि उनीहरूले एमसीसीको विरोधमा मंगलबार देशभर कोणसभा गरेका थिए । यससँगै सरकारले पनि आइतबार हुनसक्ने सम्भावित हिंशा रोक्न सुरक्षा निकायहरूलाई सर्कुलर गरेको छ ।