संवैधानिक परिषद्को बैठक जारी, लोकसेवादेखि अख्तियारसम्म विभिन्न नियुक्ति गरिँदै - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

संवैधानिक परिषद्को बैठक जारी, लोकसेवादेखि अख्तियारसम्म विभिन्न नियुक्ति गरिँदै



काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक पषिदको बैठक जारी छ । परिषद बैठकमा विपक्षी दलका नेता शेरवहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा सहभागी छैनन् ।

देउवा र प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई पनि बैठकमा सहभागी नहुन आग्रह गरेका थिए । तर जबरा भने बैठकमा उपस्थित भएका छन् । उनी सहित राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि उपस्थित छन्।

आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा शुरु बैठकमा संवैधानिक निकायहरुमा रिक्त पदाधिकारी नियुक्तिको छलफल भइरहेको छ ।

परिषद्को आइतबारको वैठकमा लोकसेवा आयोगदेखि अख्तियारसम्मको रिक्त पदमा सिफारिसका लागि छलफल गर्ने एजेन्डा रहेको छ। हाल लोकसेवा आयोगमा सवै पदाधिकारी रिक्त रहेको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि दुई आयुक्तको पद रिक्त रहेको छ।

त्यस्तै महिला आयोग, दलित आयोग, समावेशी आयोग र वित्तिय आयोग र अन्य केही आयोगमा पदाधिकारी रिक्त रहेको छ। यसअघि प्रधानमन्त्रीले अख्तियारसहित मानव अधिकार आयोगमा एकलौटी रुपमा आफू निकट व्यक्तिहरुको नियुक्ति गरेका थिए।

मानव अधिकार आयोगको नियुक्तीमाथि यतिवेला अन्तराष्ट्रिय रुपमा प्रश्न उठिरहेको छ। संयुक्त राष्ट्र संघले आयोगको नियुक्ती पेरिस सिद्धान्त विपरित र अपरादर्शी भएको भन्दै प्रश्न उठाएको छ।

यसअघि परिषद्को मंसिर ३० गते अध्यादेश मार्फत ३२ रिक्त पदाधिकारी नियुक्तिको सिफारिस गरिएको थियो। प्रमुख प्रतिपक्ष दलका नेता र सभामुख बिनै परिषद्को वैठक बसेर उनीहरुको नियुक्ति गरियो अनि संविधानले तोकिएको संसदीय सुनुवाई समेत छलेर नियुक्ति दिइयो।

यसरी गरिएको नियुक्तिको विवाद राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा भइरहेको छ। यो विवाद सेलाउँन नपाउँदै प्रधानमन्त्री ओलीले आफू पदमा निरन्तर हुने वा नहुने निर्णय हुनुभन्दा अघिल्लो दिन परिषद्को बैठक राखेका हुन्।