एकीकृत समाजवादीमा यसरी हुँदैछ जिम्मेवारी बाँडफाँड
काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) पार्टीले आधिकारिकता पाएसँगै केन्द्रको संरचना बनाउने तयारी गरेको छ । पार्टी गठनपछि शिर्ष नेतृत्वमा कसले मौका पाउला भन्ने चासोको विषय बनेको छ ।
तर एकीकृत समाजवादी पार्टीले तत्कालै भने जिम्मेवारी बाँडफाँड नगर्ने स्रोतको दाबी छ । स्रोतका अनुसार पार्टीले तत्काल निर्णय गर्नका लागि ‘हाइकमाण्ड’ निर्माण गर्ने भएको छ ।
एमालेबाट आउने नेताहरूको खाका स्पष्ट भएपछि मात्र पार्टीले संरचना र जिम्मेवारी तय गर्ने बताइएको छ । पार्टीले तत्काल पाँच सदस्यीय ‘हाइकमाण्ड’ गठन गर्ने तयारी गरेको छ ।
समाजवादी पार्टीले तत्काल निर्णय गर्नका लागि हाइकमाण्ड गठन गर्ने तयारी गरेपनि हाइकमाण्डमा को को रहने भन्ने स्पष्ट भएको छैन । यधपी स्रोतको दाबी अनुसार तत्काल पाँच सदस्यीय हाइकमाण्ड बन्नेछ । हाइकमाण्डमा माधवकुमार नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने, प्रमेशकुमार हमाल र बेदुराम भुसाल हुनेछन् ।
वामदेव गौतम पनि केही समयपछि थपिने बताइएको छ । समाजवादीका एक नेताले दिएको जानकारी अनुसार हाइकमाण्डले पार्टीको राजनीतिक तथा सांगठानिक गतिविधि, राजनीतिक तथा संवैधानिक नियुक्ति र शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउनेछ ।