शान्ता चौधरीले भनिन: सामाजिक संजालले समाज ध्वस्त भयो, नियन्त्रण गरौं
काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी संसदीय दलकी सचेतक शान्ता चौधरीले सामाजिक संजालको कारण समाजमा अपराध र विकृति दिनप्रतिदिन बढ्न थालेको कारण यसलाई नियन्त्रण गर्नुपर्ने बताएकी छन् ।
सामाजिक संजालमार्फक सांसद चौधरीले पछिल्लो दिनमा सामाजिक संजाल दुरुपयोगका कारण अपराधका घटना बढ्दै गएको भन्दै यसलाई बेलैमा नियन्त्रण गर्नुपर्ने बताएकी हुन् ।
सांसद चौधरीले सामाजिक संजालको दुरुपयोगले पारीवारिक सम्बन्ध ध्वस्त हुने, नयाँ पुस्ताको भविष्य बर्बाद हुने र अपराधजन्य क्रियाकलापमा बढावा देखिने अवस्थाले समाजलाई भयावह अवस्थातर्फ लगेको बताउँदै सामाजिक संजालको प्रयोगलाई नियमन गर्न र दुरुपयोगलाई नियन्त्रण गर्न आग्रह गरेकी छन् ।
उनले लेखेकी छन्, ‘सामाजिक संजालको सहि सदुपयोग नहुँदा दिन प्रतिदिन धेरै विकृति बढ्दै जान थाल्यो । यसका सकारात्मक भन्दा नकारात्मक प्रभाव बढी पर्न थाल्यो । पारिवारिक सम्बन्ध ध्वस्त बनाउने , नयाँ पुस्ताको भविष्य बर्बाद बन्ने , अपराधजन्य कृयाकलापले समाजलाई कुरुप बनाउने , अध्ययनशिला र सृजनशिलतालाई समाप्त पारिदिने जस्ता समस्याहरु देखियो । त्यसैले सामाजिक संजालको प्रयोगलाई नियमन गरौं, दुरुपयोगलाई नियन्त्रण गरौं ।’