‘समाजवाद रबरको टोपी’ - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

‘समाजवाद रबरको टोपी’



झापा: नेपालमा समाजवाद लागू गर्ने प्रारम्भिक आधार तयार भइनसकेको ठहर गरिएको छ ।

शहीद स्मृति तथा जनयोद्धा संरक्षण प्रतिष्ठानले आज झापाको बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा सहभागीले पूँजीवादी क्रान्तिको अभिभारा पूरा भइसके पनि आन्तरिक उत्पादनको अवस्था कमजोर रहेकाले सामाजिक न्यायसहितको समाजवाद तत्काल कार्यान्वयन गर्न असम्भव हुने औँल्याए । उनीहरुले नेपाली माटो सुहाउँदो समाजवाद खोजिनुपर्ने बताए ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले बहुदलीय प्रतिस्पर्धामा समाजवाद औपचारिक लोकतन्त्रमा मात्रै सीमित हुन नहुने बताउनुभयो । उहाँले समाजवाद उन्मुख समावेशी लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि यसलाई संस्थागत गर्ने चुनौती रहेको उल्लेख गर्नुभयो ।

नेकपा (एमाले)का सचिव एवं परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालमा समाजवादको विषय कुनै एउटा पार्टीको मात्रै नभएको उल्लेख गर्दै यसलाई संविधानले पनि स्वीकार गरेको बताउनुभयो ।

चरित्र र अर्थतन्त्रका हिसाबले संविधानमा समाजवाद उन्मुख मुलकको कल्पना गरिएको भए पनि नेपाल तत्काल समाजवादी कार्यक्रम लागू गर्ने तहमा नरहेको उहाँको तर्क थियो ।

माओवादी केन्द्रका नेता राम कार्कीले ‘समाजवाद रबरको टोपी’जस्तो भएको बताउँदै पूँजीवाद रहेसम्म समाजवाद रहने धारणा राख्नुभयो । पूँजीवादको जीवनमैत्री विकल्प भनेकै समाजवाद भएको उल्लेख गर्दै उहाँले त्यसलाई वर्ग संघर्षका रुपमा विश्लेषण गर्नुपर्ने बेला आएको बताउनुभयो । (रासस)