समाजका लागि दैनिक १ डलर : न जन्मदा केहि लिएर जन्मियो न मर्दा नै लैजाने हो ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

समाजका लागि दैनिक १ डलर : न जन्मदा केहि लिएर जन्मियो न मर्दा नै लैजाने हो !



-महेन्द्र खड्का ,हाल अमेरिका

मानवजाती उत्पतिको आफ्नै इतिहास छ । यसको चर्चा मैले गरिन, तर मान्छे यो ब्रहमान्डकै बिबेकशिल प्राणी हो । यसमा दुइमत छैन । मान्छेको जन्म न चाहेर हुन्छ न त नचाहेर मृत्यू रोकिनेवाला छ । जन्मे पछि त सबैलाई मर्नै छ, जुन दिन जन्मियो त्यही दिन देखि मृत्यूको पनि गन्ती सुरु हुन्छ । फरक यत्ति हो अलि चाँडो वा अलि ढिलो ।

चाँडौ आए, कोही ढिलो गरी गए या भनौ अलि बढी लामो आयु जिए । यस्तै कोहो ढिलो गरी आए तर औसत भन्दा तुल्नात्मक चाडो गरी गए । को कती लामो जिवन व्यतित गरी भाग्यमानी भए वा अभागी भने भन्ने होइन । नचाहेरै भनौँ या भाग्यले पाएको यो जुनी कती सार्थक र सफलभयो भन्ने हो ।

अब जीवन कती सार्थक या सफल भयो, यसको मापन के ? गम्भिर प्र्रश्न जन्मिन्छ । हरेक मान्छेका आ–आफनै बुझाइ विष्लेषण र विश्वास होलान । झन हाम्रो समाजको बाहिरी आखाँबाट हेर्ने हो भने त पैसा पद र प्रतिष्ठा नै जीवनको अन्तिम सफलता हो र यही नै सार्थकता पनि । आज यही मुल मन्त्र बनेको छ ।

प्रायः मानिहरु मापन गर्छन् कति सफल भएँ, अब कति बाँकी छ ? तर प्रश्नको जवाफ उनको मनको गणितले ट्याक्क दिन सकिँदैन किनकि मान्छेको सफलता मान्छेले हेर्ने आखाँबाट असिमित छ । यहाँनेर मैले व्यक्तिगत रुपमा अलिकति भिन्न आँखाले हेरेर मेरो मनलाई अलिकति भए पनि सम्झाई बुझाई गरेको छु कि तिम्रो जीवनको सफलता र सार्थकता केवल आम मानिस र समाजको बुझाई मात्र होइन अलि भिन्न तेस्रो आखाँबाट हेर । जीवनको सफलता र सार्थकता अरुको जीवनमा कति खुसी हाँसो आशा र सम्भावना देखाउन सकियो त्यो पनि हुन्छ ।

कोही थोरै सयम धर्तिमा रहनेले पनि समाज देश दुनियाँ र सम्पुर्ण मानब जातिलाई धेरै दिएर गएका छन् । जो मूलतः मरेर गए तर अरबौको मन मुटु कहिले मरेनन अझै मन मनमा जीवित छन् । मलाई लाग्छ साँच्चिकैको अर्थमा उनीहरुको जीवन सफल र सार्थक भयो । जसले आफू त आफू, अरुको जीवनमा केही हद सम्म अलिकति भए पनि केही अर्थ थपेर गए तर बिड्म्बना हामी सँग यस्ता मान्छे कमै मात्र छन ।

यस्तै धेरै मान्छे लामो समय यो धर्तिमा रहेर गए तर कसैको मनमा रहन सकेनन् आजभोलि पर्सि गर्दै सदाको लागि बिर्सेर गए । म चाहान्छु र बिश्वास गर्छु हामी धेरै सही मानेमा जीवनको सार्थता तिर अघि बढौँ । कति सफल भइन्छ । कति असफल त्यो त पछिको कुरा भयो, तर सुरु गर्नु ठुलो हो ।

भन्छन कोशिस गर्नेहरुको कहिल्यै हार हँुदैन । नितान्त व्यक्तिगत र सहि कुरा भन्नु पर्दा मैले कति पढेँ कहाँ पढेँ के पढेँ वा कहाँ के गर्छु, कति पैसा कमाउदै छु यो मेरो नितान्त व्यक्तिगत कुरा हो र यसको समाजलाई केहि मतलब छैन, केहि महत्व पनि राख्दैन । तर महत्व राख्छ त मैले समाजको लागि के गरेँ ?

यहाँ नेर मतलब र महत्व छ कि केही कुरा व्यक्तिगत रुपमा प्राप्त हुन्छ तर मजा आउदैन तर जब त्यहि कुरा धेरैलाई प्राप्त हुन्छ वा समाज र देशले प्राप्त गर्छ अनि सामुहिक सफलता र खुसि साट्न पाइन्छ । अब यहि सफ्तार सहित को नयाँ बर्ष २०१८ को योजनाः

नयाँ बर्ष हरेक बर्ष आउँछ, झन हामी नेपालीहरुलाई त २/२ पटक होइन ३ या ४ या पटक माथि सम्म पनि । एउटा त हाम्रो आफ्नै विक्रम सम्बत । अर्को विश्वव्यापी चल्तिको ईश्वी सम्बत । अनि अरु आफ्नै जाति अनुसारका नेपाल संवत, ल्होछार, आदि अन्य सबै जनजातीका आ–आफ्नै संस्कार र चलन अनुसार पनि ।

सायद म जस्तै धेरै ले कुनै कुनै नयाँ वर्ष पक्कै मनाउछौँ । अझ धेरैले नयाँ बर्षमा के के गर्ने भनेर केहि योजना र बाचा गर्छौँ । क्रमैसंग नयाँ वर्षको योजनाको खाका नै तयार पार्ने हो भने त १२ महिनामा १२ पेज भन्दा धेरै नै हुन्छ होला । त्यो योजनामा केहि घरयासी योजना देखि लिएर स्वास्थ्य शिक्षा केहि सिप र आर्थिक योजना सम्म हुन्छ । त्यो योजना प्रायः व्यक्तिगत नै हुन्छन सामाजिक प्रायः हुँदैनन ।

तर यहाँ मेरो व्यक्तिगत होइन सामाजिक योजना र प्रतिबद्घता छ । मैले पनि त्यो हर हालतमा पूरा गर्छु गर्छु । यो प्रतिबद्धता हो – दैनिक १ अमेरिकन डलर बचत । यही जनवरी २०१८ देखि लाागु हुने गरी दैनिक १ डलर बचत गर्ने गरी यो योजना र प्रतिवद्धता व्यक्त गर्दछु ।

यो योजनाले प्रथम मूर्तरुप यहि आउदो १६ फेब्रुअरी अर्थात फागुन मा केहि सुरुवाती रकम घोषणा सँगै हुनेछ । बिशेषगरी रुकुम मुसिकोट ९ बाट सुरु गरी बिस्तारै जिल्ला हुँदै प्रदेश र केन्द्रिय स्तर सम्म पु¥याईने लक्ष्य रहेको छ । लक्षित क्षेत्र बिशेष गरी स्वास्थ्य र शिक्षा हुनेछ । समय क्रम सँगै फेरबदल हुन सक्नेछन ।

यो सामाजिक उत्तरदायित्व तिर को एउटा पाइला मात्र हो । यो न थोरै हो न धेरै । यसको आफ्नै महत्व रहेको मैले विश्वास लिएको छु । हजार माइलको यात्रा एक पाइलाबाट शुरु भएको छ । नयाँ बर्षको एकमात्र प्रतिवद्धता बनाएर अघि बढ्न पाउँदा खुसिको अनुभुति गर्दैछु ।

न जन्मदा केहि लिएर जन्मियो न केहि लिएर मर्ने हो, त्यसैले केहि दिनु छ त केवल समाज र देश लाई मात्र । यो एउटा कोष निर्माणको अभियान हो । यो पैसाले पुगेर वा पैसा बढि भएर शुरु गर्न थालेको होईन ।

अहिलेसम्मको उमेर र यात्रा सम्म लाखौँ महँगों ब्याजको भारी बोकेको छु । बुढाबुढि भईसकेका बा आमा घरमा हुनुहुन्छ । नेपालमा बहुदल आउँदाको बेला म जन्मदा बनाएको घर पुरानो भइसक्यो । बर्खामासमा झरी पर्दा चुहिने छानो अझै टाल्न सकेको छैन ।

एकसरो सामान्य लगाउन र बिहान साँझ एक छाक टार्न बाहेक मिठो मसिनो खानको लागि अरु कुनै न सरकारी जागीर छ न कुनै पेशा न कुनै व्यबसाय । त्यहि पुरानो कृषि व्यवसाय गर्दा गर्दा फुटेका हात गोडामा मलमपट्टि गर्न र एक सरो राम्रो जुत्ता, चप्पल फेरीदिन सकेको छैन ।

उमेर र कामले सधै जसो बिरामीले थला पर्ने बा आमालाई राम्रो उपचार दिन सकेको छैन । यो बेला र उमेरमा आफ्नै पनि लाउने खाने रहर कति छन कति, त्यो के धेरै कुरा गरौँ र ? यति हुँदा हुँदै पनि धेरै खर्च बाट जोगाएर धेरै कुरामा मनलाई मारेर भएपनि कसैको जीवनमा आशाको दियो बाल्न सकिन्छ कि भनेर त्यो प्रतिज्ञा लिएको हुँ ।

यो यात्रा सामुहिक संलग्नता तिरको पनि हो । यो यात्राले एकलाई दिने सफलता भन्दा सामुहिकमा दिनेले धेरै बढि दिन सक्ने छ । त्यसैले सामाजिक भावना बाट ओतप्रोत सबै मनहरु जो जहाँ बसे पनि नेपाल या विदेश, आखिर यो मन त नेपाली हो, आउनुस मिलेर काम गराैँ।

नेपालमै बस्ने वा विदेशमा बस्ने थुप्रै नेपालीहरुले आज पनि दैनिकजसो देशलाई दुःखेको बेला नैतिक भौतिक या आर्थिक सहयोग गरि राख्नुभएको छ । हाम्रो भावना ठीक छ, सफा छ, तर सबैको नहुन सक्छ । फलस्वरुप धेरैले विदेशमा रगत पसिना सँग साटेको पैसा नेपालमा पठाएको तर पछि ठगीएको समाचार पनि धेरै आउने गरेका छन । यो सुन्दा पढ्दा निकै दुःख लाग्छ ।

पैसा फल्ने कुनै रुख हुँदैन भावनामा बहेर सफा मन र राम्रो भावना हुँदा हुँदै पनि त्यहि भावनामा ठूलो चोट र आघात पुग्दछ । सबै धुर्मुस सुन्तली मात्र बस्दैन नेपालमा । सबै रबि लामिछाने जस्तै विदेशीको आरोप खेप्दा खेप्दै पनि हार नमानी निरन्तर लागि रहने यहाँ अरु थुप्रै भावनामा खेलेर भावनाकै व्यापारीहरु पनि   छन ।

व्यक्ति हैन संस्थामा विश्वास गर्नुस । बरु सकिन्छ भने आफ्नै गाउँ ठाउँबाट सहयोग शुरु गर्नुहोस र सामुहिकतामा जोड दिनुहोस । सामाजिक उत्तरदायित्वको एक कदम चाल्न जहाँ बाट जे सकिन्छ त्यहि सहयोग गरी अरु कसैको जीवनमा महत्व थप्ने तिर तपाईँको यात्रा अघि बढोस् नयाँ बर्षको धेरै धेरै शुभकामना ।