योगेश भन्छन्: युथ फोर्स र अखिल फोर्सले समाजमा आतंक फैलाए - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

योगेश भन्छन्: युथ फोर्स र अखिल फोर्सले समाजमा आतंक फैलाए



काठमाडौं । नेकपा (एमाले)का नेता योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओली पक्ष र माधव नेपाल समूहले युथ फोर्स र अखिल फोर्स गठन खारेज गर्न माग गरेका छन् । पार्टीमा रहेको अनेरास्ववियु र युवासंघलाई ओझेलमा राखेर समूहमार्फत अन्य संगठन तयार गरिएको भन्दै नेता भट्टराईले आपत्ति जनाएका छन् ।

‘अनेरास्ववियु र युवासंघ जस्ता संगठनलाई ओझेलमा राखेर निर्माण गरिएका युथ फोर्स अखिल फोर्सको औचित्य के छ ?’, भट्टराईले प्रश्न गरेका छन् । समानान्तरण जनवर्गीय संगठन निर्माण गरेका माधव समूह निकट अनेरास्ववियुले अखिल फोर्स निर्माण गरेको छ ।

अध्यक्ष ओली पक्षले युथ फोर्स ब्युँताएपछि नेपाल समूहले अखिल फोर्स तयार गरेको हो । नेपाल निकट युवा संघले पिपुल्स भोलिन्टियर ‘पीभी’ पनि ब्युँताउने तयारी गरेको छ ।

‘ऐतिहासिक र गौरवशाली इतिहास भएका, पञ्चायत फाल्ने र गणतन्त्र ल्याउने आन्दोलन र क्रान्तिको अग्रभागमा रहेर भूमिका खेलेका, हजारौँ युवाहरुलाई राजनीतिक र वैचारिक शिक्षामार्फत पार्टी र सामाजिक कामको नेतृत्व गर्नसक्ने क्षमतामा पुर्‍याएका अनेरास्ववियू र युवासंघ जस्ता संगठनलाई ओझेलमा रखेर निर्माण गरिएका युथ फोर्स र अखिल फोर्सको औचित्य के छ’, भट्टराईले सोधेका छन्।

उनले समाजमा आतंकको आभास दिने र युवाहरुलाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्द्त यस्ता बाहुबली समूहहरु तत्काल खारेज गर्न पनि माग गरेका छन्।

‘समाजमा आतंकको आभास दिने र युवाहरुलाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्द्त यस्ता बाहुबली समूहहरु तत्काल खारेज गर्नु पर्दछ। अनेरास्ववियू र युवासंघ जस्ता संगठनलाई सही नीति र नेतृत्व प्रदान गरेर राजनीतिक र सामाजिक काममा अग्रसर गर्नु पर्दछ’, भट्टराईले भनेका छन्।

एमालेभित्र हालै अध्यक्ष ओली पक्षले युथ फोर्स ब्यूँत्याएपछि नेपाल समूहले अखिल फोर्स तयार गरेको हो। नेपाल निकट युवा संघले पिपुल्स भोलिन्टियर ‘पीभी’ पनि ब्यूँत्याउने तयारी गरेको छ।

‘के काम हुन्छन् जो युवासंघ र अनेरास्ववियूले गर्न नसक्ने तर युथफोर्स र अखिलफोर्सले मात्र गर्न सक्ने’, नेता भट्टराईले साेधेका छन्।

पार्टीभित्रका गुटहरुमा वैचारिक चरित्र सकिँदै जाँदा एक आर्काकाविरुद्ध बाहुबली जत्था प्रयोग गर्न खोजेको हो भन्ने प्रश्न गर्दै भट्टराईले अगाडि भनेका छन्, ‘यदि हो भने हामी आफ्नो र कम्युनिस्ट आन्दोलनको चिहान आफैले खनिरहेको स्वीकार गर्नु पर्दछ।’

उनले शान्तिपूर्ण र वैधानिक प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने, कानुनी राज्यलाई स्वीकार गर्ने जस्ता विशेषतासहितको बहुदलीय जनवादको सिद्धान्तलाई अनुशरण गरेको नेकपा एमालेका लागि बाहुबली संगठन निर्माण गर्नु सुहाउने काम नभएकाे बताउँदै यस्ता गतिविधिमाथि तत्काल रोक लगाउन नेतृत्वसँग आग्रह गरेका छन्।