सामाजिक एकता कायम राख्दै देशलाई समृद्धितर्फ लैजानुपर्छ - Himal Post Himal Post
  • २९ माघ २०८२, बुधबार
  •      Wed Feb 11 2026
Logo

सामाजिक एकता कायम राख्दै देशलाई समृद्धितर्फ लैजानुपर्छ



हिमाल पोष्ट / माघ १४ , काठमाडौँ ।   नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विविधतामा एकता कायम राख्दै देशलाई समृद्धितर्फ लैजान सबैले पहल गर्नुपर्ने बताउनुभएको छ ।

सोनाम लोसारको अवसरमा नेपाल लोकतान्त्रिक तामाङ सङ्घ केन्द्रीय कमिटीले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा अध्यक्ष ओलीले गरिबी हटाई देशमा समृद्ध कायम गर्न सबैमा एकता हुनुपर्नेमा जोड दिनुभएको हो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले विविधतामा एकता नै जनताको चाहाना रहेको भन्दै सोहीअनुरुप संविधान जारी भएको स्पष्ट पार्दै त्यसको कार्यान्वयन गर्नु सबैको साझा कर्तव्य रहेकामा जोड दिनुभयो ।

एमालेका सचिव गोकर्ण विष्टले आगामी दिनमा तामाङ समुदायलाई राज्यको जिम्मेवार पदमा सिफारीस गर्नका लागि आफ्नो पार्टी प्रतिबद्ध रहने जानकारी गराउनुभयो ।
लोकतान्त्रिक आदिवासी, जनजाति महासङ्घका अध्यक्ष पृथ्वी सुब्बा गुरुङ्ले राष्ट्रवादलाई बलियो बनाउनका लागि सबै भाषा, जाति र धर्मलाई व्यवहारिक रुपमा नै समान ठान्नुपर्ने धारणा राख्नुभयो ।

सङ्घका अध्यक्ष धावा लामाले १५ लाख जनसङ्ख्या रहेको तामाङ समुदायलाई राज्यको सबै तहमा नै पछि पारिएको गुनासो गर्नुभयो ।