जेठ १२ गते सलमान खान नेपाल आउने
काठमाडौं । बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम पुनः तय भएको छ । खानलाई अदालतले ५ वर्षको जेल सजाए तोकेपछि उनी नेपाल आउने कार्यक्रम अलपत्र परेको थियो । तर, उनी अदालतबाट जमानतमा रिहा भएपछि नेपालको कार्यक्रम पुनः तय भएको आयोजकले जनाएको छ ।
आयोजक ओडीसी इन्टरटेनमेन्टका प्रवन्ध निर्देशक सीमान्त गुरुङका अनुसार आगामी जेठ १२ गतेका लागि सलमानको कार्यक्रम निश्चित भएको छ । ‘दबङ द टुर नेपाल’ अन्तर्गत उनी नेपाल आउन लागेका हुन् । यसअघि फागुन २६ गते उनी नेपाल आउने मिति तय भए पनि विप्लव माओवादीले नेपाल नआउन चेतावनी दिँदै त्यसैदिन नेपाल बन्दको घोषणा गरेको थियो । सलमान नेपाल आए कार्यक्रम बिथोल्ने चेतावनी दिएपछि आयोजकले कार्यक्रम वैशाखमा गर्ने जनाएको थियो ।
सलमान आउनेभन्दै आयोजक ओडीसी इन्टरटेन्मेन्टले चार हजार टिकट बिक्री गरिसकेको छ । कतिपयले टिकटको पैसा फिर्ता पनि लिइसकेका छन् ।
कार्यक्रमका लागि सलमानसहितको समूहलाई आयोजक ओडीसी इन्टरटेन्मेन्टले ७ करोड भारतीय रुपैयाँ पठाइसकेको छ । यसमा ३ करोड रुपैयाँ सलमानका लागि पठाइएको थियो ।
कार्यक्रममा सलमानसँगै नायिका सोनाक्षी सिन्हा, निर्देशक प्रभु देवा, डेजी शाह, कृति सेनोन र पञ्जाबी भांगडा डान्सर ‘मिड बोस’ पनि आउने कार्यक्रम छ ।
सलमानसँगै नेपाली कलाकार राजेश पायल राई, राजु लामा, सुष्मा कार्की र माला लिम्वूले आफ्नो प्रस्तुती प्रस्तुत गर्ने कार्यक्रम छ । ९० जना सहयोगी तथा सहकर्मीसहित सलमान नेपाल आएर तीन दिन बस्ने कार्यक्रम छ ।