नेकपा सकिने देखेपछि काँग्रेसतिर सल्कियो चीन - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

नेकपा सकिने देखेपछि काँग्रेसतिर सल्कियो चीन



काठमाडौं- चिनियाँ कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको टोलीले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटमा पूर्वप्रधानमन्त्री बिपी कोइराला सम्झँदै सबै पार्टीसँग सम्बन्ध सुदृढ गर्न आएको बताएको छ ।

प्रमुख प्रतिपक्षी दल कांग्रेस र चीनबीच पछिल्लो समय दुरी बढ्दै गएका बेला नेता गुओले कांग्रेससँग नेपाल–चीन सम्बन्धको पुरानो बिरासत जोडिएको समेत उल्लेख गरेका छन् । उनले चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवं राष्ट्रपति सी जिनपिङको प्रत्यक्ष निर्देशन र रुचीमा टोली राजनीतिक दलहरुसँग सम्बादका लागि नेपाल आएको समेत स्पष्ट पारेका छन् ।

राष्ट्रपति सि जिनपिङको प्रत्यक्ष निर्देशन अनुसार आफू नेपालका प्रमुख दलहरुसँग संबादका लागि आएको समेत प्रष्टीकरण दिएका छन् । ‘राष्ट्रपति सी नेपालका प्रमुख पार्टीहरुसँग निरन्तर संवादको पक्षमा हुनुहुन्छ । त्यही सन्दर्भमा मलाई राष्ट्रपति सीले बोलाएर नेपाल भ्रमण गर्न निर्देशन दिनुभए अनुसार यहाँ आएको हुँ’ चिनियाँ नेता गुओले देउवालाई भने, ‘यसबीचमा हामीले नेपाल कम्युनिष्ट पार्टी मात्र होइन हामीले जनता समाजबादी पार्टीसँग पनि छलफल गरेका छौं ।’

नेकपाका चार नेता केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालसँगको कुराकानीमा भने चिनियाँ नेताले पार्टी पुनःएकीकरण वा भविष्यमा वाम गठबन्धनको सम्भावना छ कि छैन भन्ने प्रश्न गरेका थिए । उनीहरुले नेकपालाई मिल्न सुझाब दिएका थिए ।

सभापति देउवा निवास बुढानिलकण्ठमा भएको छलफलमा कांग्रेस नेता एवं पूर्वमन्त्री डा. नारायण खड्का र देउवाका परराष्ट्र मामिला सल्लाहारसमेत रहेका पूर्वराजदूत डा. दिनेश भट्टराई सहभागी थिए । गुओ नेतृत्वको चिनियाँ टोलीमा नेपाली भाषा अनुबादकसहित तीनजना सहभागी थिए । चिनियाँ राजदूत होउ यान्छी भने देउवासँगको भेटवार्तामा सहभागी भइनन् ।

‘राष्ट्रपति सी जिनपिङ्सँग भेटेर नेपालसँग प्रमुख दलहरुसँग संवादका लागि हामी आएका हौं, कांग्रेससँग नेपाल चीन सम्बन्धको बिरासत छ भन्दै उनीहरुले बिपी कोइरालाको चर्चा गरे’ पूर्वराजदूत डा भट्टराईले भने, ‘सभापति देउवाले पनि बिपीले नै बनाएको नेपाल चीन सम्बन्धको जगमा चीनसँग सम्बन्ध अघि बढाउन प्रतिबद्ध छौं भन्नुभयो ।’ नेपाली कांग्रेस एक चीन नीतिप्रति प्रतिबद्ध भएको देउवाको भनाई थियो ।

चिनियाँ नेता गुओले कांग्रेस नेतृत्वको सरकारका पालामा चीन्सँग सम्बन्ध सधैं राम्रो भएको चर्चा गरेका थिए । ‘जुनसुकै परिवर्तन हुँदा पनि नेपाल चीन सम्बन्धमा परिवर्तन आउँदैन’ गुओको भनाई थियो । स्रोतका अनुसार ३५ मिनेट कुराकानीको शुरुवातमै चिनियाँ नेता गुओले नेकपाको विवाद मिलाउन आफूहरु नआएको प्रष्टीकरण दिएका थिए ।

‘हामी शुभकामना आदनप्रदान गर्न आएका हौं, राष्ट्रपति सीसँग भेटेर नेपाली दलहरुसँग सम्बन्ध सुदृढ गर्न आएका हौँ’ गुओको भनाई थियो । नेपाली कांग्रेससँग तीन बर्षयता सम्बन्धमा दुरी भएको महसुस चिनियाँ नेताहरुले गरेका थिए ।
नेकपा फुटपछि नेपाली राजनीतिमा कांग्रेसको बढेको आधारमा पनि चिनियाँ पक्षले सम्बन्ध विकसित गर्न खोजेको कांग्रेस नेताहरुको बुझाई छ ।

सभापति देउवाले चिनियाँ पक्षबाट यसबीचमा कांंग्रेसलाई प्राथमिकता नदिएको संकेत गरेका थिए । देउवाले लाक्षणिकरुपमा उनीहरुलाई प्रश्न गरे ‘तपाईँहरुले सबै पार्टीहरुलाई इन्गेज गर्न खोजेको हो कि ?’ कांग्रेस नेता डा नारायण खड्काले चिनियाँ सरकारी सञ्चारमाध्यमले भारतसँग जोडेर कांग्रेसको बदनामा गराएको भन्दै ध्यानाकर्षण गराएका थिए । स्रोतका अनुसार यसमा चिनियाँ नेता गुओको जबाफ थियो, ‘साथीहरुको बीचमा कहिलेकाहिँ असमझदारी हुन्छ । हामी कांग्रेसलाई राम्रो मित्र ठानेका छौँ ।’

चिनियाँ नेताले आगामी वर्ष चिनियाँ कम्युनिष्ट पार्टी १०० वर्ष पुग्न लागेको भन्दै त्यस अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन देउवालाई निम्ता दिएका थिए । देउवाले निमन्त्रणाका लागि धन्यवाद दिँदै उपयुक्त समयमा निर्णय लिने बताएका थिए । आइतबार दिउँसो आएका चिनियाँ नेताहरु बुधवार स्वदेश फर्किने कार्यक्रम रहेको पर्शुराम काफ्लेले नयाँ पत्रिकामा लेखेका छन् ।