सालझण्डी– सन्धिखर्क ढोरपाटन सडकको ट्रयाक खोल्ने काम अलपत्र - Himal Post Himal Post
  • ११ माघ २०८१, शुक्रबार
  •      Fri Jan 24 2025
Logo

सालझण्डी– सन्धिखर्क ढोरपाटन सडकको ट्रयाक खोल्ने काम अलपत्र



घनश्याम पौडेल अर्घाखाँची, २ मंसिर
सालझण्डी– सन्धिखर्क ढोरपाटन सडकको ट्रयाक खोल्ने विषयमा भएको विरोधको समाधान गर्न सबै एकजुट हुनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । रिपोर्टर्स क्लव नेपाल अर्घाखाँचीले सन्धिखर्कमा गरेको साक्षात्कारमा उनीहरुले सालझण्डीदेखि ढोरपाटन सम्मका सबै ठाउँमा सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएपनि सन्धिखर्कको चुत्रावेशी करिव एक किलोमिटर सडकको ट्रयाक खोल्ने विषयमा विवाद गरेर सडकको कामलाई अलपत्र राख्न नहुने बताए ।

स्थानीयले चुत्रावेशी बजारबाट सडक लैजाँदा आफूहरुको उठीबास लाग्ने भन्दै पाँच वर्ष देखि बिरोध जनाइरहेका छन् । चुत्रावेशीको मोटररेवल पुल सम्म आएको सडक त्यस ठाउँबाट रुव्दी जोड्नका लागि स्थानीयको अबरोध रहँदै आएको छ । नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी भौतिक योजना तथा निर्माण मन्त्री हुँदा उनले सडकको निर्माण कार्य सुरु गरेका थिए । साक्षात्कारमा नेता नेता रायमाझीले यो सडकले भविश्यमा ठूलो संभावना बोकेको भन्दै सबै मिलेर सडकको ट्रयाक खोलिनुपर्ने बताए । लुम्बिनी आएका पर्यटक अर्घाखाँची हुँदै वाग्लुङ्गको ढोरपाटन सम्म पुग्ने भन्दै उनले त्यसबाट जिल्लाले धेरै लाभ लिने विश्वास व्यक्त गरे । रायमाझीले सडकको ट्रयाक खोल्ने विषयमा बिवाद सिर्जना गराएर केहि व्यक्तिहरुले राजनीति गर्न खोजेको अरोप लगाए । ‘जस्को क्षति हुने हो उसले बिरोध गर्नु जायस हो’ उनले भने, ‘अन्य व्यक्तिहरुले धेरै चाँसो दिनु ठिक भएन ।’ उनले चुत्रावेशीबाट सडक लैजाँदा प्राविधिक दृष्टिले उत्तम हुने भन्दै सडकलाई चुत्रावेशी बजारबाटै लैजानुपर्नेमा जोड दिए ।

नेता रायमाझीले चुत्रावेशी बजारबाट सडक लैजाँदा क्याविनेटबाट १२ मिटर सडक कायम गर्ने सहमति गराउने भन्दै धेरै क्षति नहुने विषयमा निश्चिन्त हुन स्थानीयलाई आग्रह गरे । संघर्ष समितिका अध्यक्ष रामहरि भुसालले चुत्रावेशीबाट सडक लैजाँदा धेरै ठूलो क्षति हुने बताउँदै विकल्प खोज्नु पर्ने बताए । चुत्रावेशीबाट सडक निर्माण गर्ने प्रस्ताव गरिएको क्षेत्रमा पनि थुप्रै घरहरु सार्वजनिक जग्गामा निर्माण भएका छन् । विगत द्वन्द्वकालमा माओवादी आक्रमणमा नापी कार्यलयमा रहेका नक्सा र फिल्डवुक जलेपछि त्यसको मौका छोपेर सार्वजनिक जग्गा अतिक्रमण गरि घर निर्माण गर्नेको होडबाजी चलेको हो । विगत चार वर्ष देखि जिल्लामा विशेष नापी कार्यालयको स्थापना गरि पुर्ननापी गर्ने काम भइरहेको छ । विशेष नापीले सन्धिखर्क बजारमा डिजिटल प्रविधिबाट जग्गाको पुर्ननापजाँच गर्ने काम गरिरहेको छ । उक्त कार्यक्रममा विशेष नापी कार्यालयका प्रमुख मोहम्मद साविर हुसैनले सडकका लागि प्रस्ताव गरिएको क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरि बनाइएका घरहरु नक्सा मार्फत देखाएका थिए । ०४२ सालको नापीलाई आधार बनाएर उनले नक्सा देखाएको बताए । बार ऐसोसियसनका अध्यक्ष केवि भुसालले ०४२ सालको नापीलाई आधार बनाएर जग्गा छुट्टाएमा स्वीकार नगरिने बताए । अधिवक्ता जगन्नाथ भुसालले कम क्षति हुने किसिमले सडकलाई सन्धिखर्क क्षेत्रबाटै लैजानु पर्ने सुझाव दिए । सालझण्डी सन्धिखर्क ढोरपाटन सडक आयोजनाका प्रमुख सुरेस पौडेलले प्राविधिक दृष्टिले चुत्रावेशीबाट ट्रयाक खोल्न उपयुक्त भएपनि स्थानीयको बिरोधका कारण सडकको ट्रयाक खोल्न नसकिएको बताए । ‘राजनीतिक क्षेत्रबाट प्रयाप्त सहजीकरण हुन नसक्दा सडकको ट्रयाक खोल्न सकिएको छैन उनले भने, कार्यालय एक्लैले चाहेर मात्र ट्रयाक खोल्न संभव हुँदैन ।’ पौडेलले राजनीतिक दलहरुको साथ र सहयोग रहे कार्यालयको कुनै कमीकमजोरी हुन नदिने प्रतिवद्धता जनाए ।

प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालले सडकको ट्रयाक खोल्ने विषयमा छिट्टै उचित निकास दिने बताए । उनले सबै पक्षको सहयोग लिएर सडकको ट्रयाक खोल्ने काम गर्ने बताए । प्रजिअ कटवालले स्थानीयलाई धेरै मर्का हुने कामबाट बचाउन आफूले पहल गर्ने बताए । उनले सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई कानून बमोजिम कारवाही गरिने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु खनाल मुस्कान, एमालेका जिल्ला सचिव रामबहादुर चौहान, राष्ट्रिय जनमोर्चाका नेता सागर केसी नेकपा माओवादी विप्लव समुहका कुलराज वञ्जाडे, पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थी, युवा संघका अध्यक्ष गोविन्द आचार्य लगायतले मन्तव्य राखेका थिए ।