सलह किरा खाने कि नखाने ? विज्ञ यसो भन्छन् - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

सलह किरा खाने कि नखाने ? विज्ञ यसो भन्छन्



काठमाडौं- कोरोना भाइरसको आतङ्कले विश्वलाई थिचिरहेका बेला नेपालमा सलहको आतङ्क थपिएको छ । कोरोनाले मानिसको ज्यान लिइरहेको छ भने सलह चाहिँ मानिसले मीठो मानेर भोजन गरेको चर्चा छ।

विदेशी मुलुकमा सलह भुटेर, उसिनेर, साँधेर अनि झोलसहित खाएका कैयौँ भिडियो युट्युबमै भेटिन्छन् । नेपालमा यो खान हुन्छ भन्ने एकथरी छन् भने खान हुँदैन भन्ने मत राख्ने विज्ञ छन् र उनीहरूले चरा, कुखुरा वा हाँसलाई दाना बनाएर दिन सकिने बाटो पनि देखाएका छन्।

काठमाडौँं उपत्यकावासीले वर्षौंअघि नै सलहलाई हाँडीमा भुटेर खाएको इतिहास छ । १०१ वर्षीय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीले नेपालमा सलह आएको उतिबेलै देख्न पाए। त्यतिबेला सलह पोलेर अनि हाँडीमा भुटेर काठमाडौँका मानिसले खाएको उनी बताउँछन्।

त्यतिबेला सलह आकाशै ढाकेर आएका थिए । करोडौँ सङ्ख्यामा थिए भन्ने अनुमान छ। काठमाडौँका विभिन्न स्थानका मानिसले सलह समाते । त्यति मात्र होइन सडकमा लहरै भाग लगाएर बेच्न पसल नै थापे। शताब्दी पुरुष जोशी आफू खाने अनि मसला हालेर मीठो बनाएको सलह अरूलाई बेचेर चखाएको बताउँछन्। यो खबर आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छन्।

एक भागको दुई पैसादेखि चार पैसा सम्ममा बेच्ने गरेका थिए। पछिल्लो समय सलह खरिद बिक्री गर्ने क्रम बढेको छ । यसलाई पकाएर खाने प्रवृत्ति पनि देखिएको छ । सलह खान हुन्छ भन्नेले खान थालेका छन्।

खान हुन्न कोरोना जस्ता भाइरस फैलाउन सक्छ भन्ने अर्काथरीले नखान भनिरहेका छन्। त्रिभुवन विश्वविद्यालयका कीट विज्ञ डा.प्रेमबहादुर बुढा सलहमा उच्च प्रोटिन हुने भएकाले खान हुने बताउँछन्।

सलह भगाउन प्रयोग गरिने विषादी र विभिन्न देश डुलेर आएकाले यसमा रोग वा भाइरसको अंश हुन्छ कि भन्ने मानिसमा एक प्रकारको आशङ्का रहेको छ तर उहाँ त्यो कुराले महत्व नराख्ने बताउँछन्।

‘कहीँ कतै विषादी प्रयोग गरिएको सुनिएको छ तर त्यसले सलहलाई खासै असर गर्दैन, नेपालको परम्परागत समाजमा यस्ता कीरा खाने चलन छ। वर्षा मौसम रहेको र उड्ने कीरा भएकाले विषादीको असर हुँदैन,’ उनले भने।