प्रदेश–५ सरकारको सलह किराको व्यापार, प्रतिकिलो २० रुपैयाँमा किन्ने सरकारी निर्णय
बुटवल- प्रदेश नम्बर–५ मा सरकारले सलह किराको ब्यापार गर्ने भएको छ । किसानलाई सलहले सखाप पार्ने चिन्ता भैरहेको बेला सरकारले भने प्रतिकिलो २० रुपैयाँमा सलह किराको ब्यापार गर्ने भएको छ ।
सलह किरा जम्मा पार्ने जो–कोहीबाट प्रतिकिलो २० रुपैयाँको दरमा किन्ने निर्णय भएको प्रदेश–५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सलह किरा दिउँसोमा मात्रै हिँड्ने भन्दै रातिमा समात्न सकिने पनि जनाएको छ । बाली र रुख बिरुवा नष्ट गर्ने सलह नष्ट गर्न प्रदेश ५ सरकारले सलह कीरा खरीद गर्ने भएको छ। सलह कीरा समातेर प्रदेश सरकारलाई बुझाउनेले १ किलोको २० रुपैयाँ पाउने छन्।
शनिबार रुपन्देही र कपिलवस्तुका केही भागमा सलह कीरा देखिएपछि त्यसलाई नष्ट गर्नका लागि प्रोत्साहन स्वरुप प्रतिकिलो २० रुपैयाँका दरले खरीद गर्ने निर्णय भएको प्रदेश ५ भूमि व्यवस्था तथा कृषि मन्त्री आरती पौडेलले जानकारी दिइन्।
उनका अनुसार प्रदेश सरकारले यसको जिम्मा स्थानीय तहका वडा कार्यालयहरुलाई दिनेछ। ‘यो कीराले सबै बालीनाली नष्ट गर्छ, हाम्रो बाली नष्ट गर्नुअघि नै यसलाई नष्ट गर्ने काम गर्न जरुरी छ’, उनले भनिन्, ‘किसानले जसरी पनि यसलाई नियन्त्रण गर्नुपर्छ, त्यसो गर्दा प्रदेश सरकारले केही प्रोत्साहन दिने निर्णय गरेको हो।’
मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार हावा उत्तरतर्फ गइरहेकोले सलह किरा पनि बुटवल हुँदै पाल्पा र गुल्मीसम्म पुग्नसक्ने अनुमान गरिएको मन्त्रालयले जनाएको छ ।
सलह किरा हावाको बहावसँगै आएको र अब पश्चिमतर्फ हावा लाग्ने भएकोले दाङ, बाँकेलगायतका जिल्लामा पुग्ने अनुमान गरिएको मन्त्रालयले जनाएको छ ।
किसानलाई आफ्नो खेतीबाली जोगाउनका लागि अनुरोध गर्ने, जाली वा कपडाले छोपेर खेती वा बालीनाली जोगाउने, रातीको समयमा यो रुख बिरुवामा रहने भएकाले समातेर नष्ट गर्ने वा बोरामा हालेर नजिकको वडा कार्यालयमा लगेर बेच्न सकिने मन्त्रालयले बताएको छ ।