सकियो सत्ता गठबन्धनका शीर्ष नेताको बैठक, यस्तो भयो सहमति
काठमाडौं- सत्ता गठबन्धनका शीर्ष नेताले यथाशीघ्र मन्त्रिपरिषद् विस्तार गर्न सहमत भएका छन्। सोमबार बिहान बालुवाटारमा पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकमा उक्त सहमति भएको हो। बैठकमा
गठबन्धनलाई निरन्तरता दिने, अध्यादेशबाट ल्याएको बजेट सच्याउने, जयसिंह धामी प्रकरणबारे सत्यतथ्य छानवीन प्रतिवेदन सार्वजनिक गर्ने, सत्ता सञ्चालनलगायतको विषयमा सहमति भएको कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेताहरु उपस्थित थिए। बैठकमा देउवाले सरकारले खोपलाई प्राथमिकता दिएर अगाडि बढिरहेको जानकारी गराएका छन्। उनले गठबन्धनको सहमतिमै मन्त्रिपरिषद्लाई पूर्णता दिने धारणा राखेको खड्काले जानकारी दिए। आवश्यक कानुन निर्माण गरेर बजेट परिमार्जन गर्न सत्ता गठबन्धनका नेताहरुले प्रधानमन्त्री देउवालाई सुझाव दिएका छन्।
देउवाले विश्वासको मत पाएपनि डेढ महिना समय बितिसक्दा मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। गठबन्धन भित्रका दल आन्तरिक समस्यामा फसेपछि उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेका हुन्।
सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सहभागी छ। अहिले गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ रहेका छन्। बाँकी मन्त्रालयहरू प्रधानमन्त्री मातहत नै छन्। सत्ता गठबन्धन भित्र मन्त्रालय बाँडफाड र गठबन्धनबीच मन्त्री छनोटमा विवाद भइरहँदा देउवाले कस्तो मन्त्रिमण्डल बनाउँछन् भन्ने आमचासो रहेको छ।
अधिवेशन अन्त्य गरेर देउवा सरकारले राजनीतिक दल विभाजनमा खुकुलो प्रावधान राखेर अध्यादेश जारी गरिसकेको छ। सोही अध्यादेशमा टेकेर एमालेबाट माधव नेपाल र जसपाबाट महन्त ठाकुर अलग भई नयाँ दल गठन गरिसकेका छन्।
सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि सार्वजनिक गरिसकेको छ। पाँचदलीय गठबन्धनद्वारा सरकार सञ्चालनमा सघाउन नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा सोही दलका नेताद्वय मीनेन्द्र रिजाल र रमेश लेखक, नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र देव गुरुङ, जनता समाजवादी पार्टीबाट महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ रहेको कार्यदल गठन गरिएको थियो।