जब प्रधानमन्त्री ओलीले आफु सकिएको भेउ पाए... - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

जब प्रधानमन्त्री ओलीले आफु सकिएको भेउ पाए…



हिमालपोस्ट- शनिबार बिहान प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली एकाएक पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवास खुमलटार हानिएपछि ओली लचिलो बनेको चर्चा पार्टीमा चल्न थालेको छ ।

पार्टीमा समझदारी नगरी एकलौटी ढंगले संवैधानिक परिषदसम्बन्धि अध्यादेश जारी गरेपछि आफ्नै खेमामा पनि आलोचित बनेका प्रधानमन्त्री ओली आफ्ना विरोधीहरुसंग भिडेर जित्न नसकिने मुडमा पुगेका छन् । उता शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसंगको छलफल पनि सोचेजस्तो राम्रो हुन नसकेपछि प्रधानमन्त्री खुमलटार पुगेरै भएपनि नेताहरू फकौनुको विकल्प नभएको निस्कर्षमा पुगेको नेताहरूले बताएका छन् ।

एकातिर पार्टीमा लामो समयदेखि अल्पमतमै रहेका ओली अहिले भने आफ्नै खेमाका नेताहरूले पनि साथ् नदिने अवस्थामा पुगेका छन् । अर्कातिर ओलीलाई काखी च्याप्दा आफै संकटमा पर्ने अवस्था देखेर राष्ट्रपति कार्यालय पनि तर्किएको छ। राष्ट्रपति भण्डारीले समेत नेताहरूसँग मिलेर अगाडी बढ्नुको विकल्प नभएको सुझाव दिएपछि ओली लचिलो देखिएको एक स्थायी कमिटि सदस्यले बताएका छन् ।

प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवासित मिलेर संवैधानिक अंगमा एकलौटी नियुक्तिहरु गर्ने प्रयासमा पनि प्रधानमन्त्री ओली असफल भए ।

एकलौटी नियुक्ति गर्ने रणनीति बनाएको र पार्टीको सहमति नलिएकाले परिषदको बैठकमा सभामुख अनुपस्थित भएपछि हठात् अध्यादेश जारी गरेका प्रधानमन्त्री ओली त्यसपछि एकाएक बिग्रिएको परिस्थितिले समातेको हाँगो भाँचिएको महसुस गरेका छन् । अध्यादेश ल्याएपछि चौतर्फी विरोध भयो र २४ घण्टा नबित्दै फिर्ता लिन स्थायी कमिटीको बैठकमा सहमति जनाए ।

चर्को विरोधकै कारण अध्यादेश र नियुक्तिमा देउवाले समेत ओलीको साथ छाडे । पार्टीमा पनि आलोचित बनेपछि देउवाले ओलीलाई अगाडी साथ दिन नसक्ने निष्कर्ष निकाले । यो कदममा पनि ओली एक्लीए ।

बैठकमै अध्यादेश फिर्ता गर्ने सहमति जनाएका प्रधानमन्त्रीले पुनः स्थायी कमिटीको म्यान्डेट विपरीत विहीबार परिषदको बैठक राख्न प्रयास गरे । प्रचण्डले बालुवाटारमा पुगेर आपत्ति जनाए । बैठक त रोकियो तर संसय भने कायमै छ ।

स्थायी कमिटीको निर्देशन अनुसार संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन नमानिरहेका प्रधानमन्त्री ओलीले शुक्रबार शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग लामो छलफल समेत गरे । शुक्रबारको शितलनिवासको छलफल भने आफू अनुकुल बनेन । बरू उल्टै अब नेताहरूसँग मिल्नुको विकल्प नभएको भन्दै समझदारी बनाउन शितलनिवासले सुझायो ।

राष्ट्रपतिको भूमिकामाथि सचिवालयका नेताहरुले प्रश्न उठाए । प्रचण्ड-माधव समूहका नेताहरूले अध्यादेश फिर्ता नलिइए त्यसलाई अनुशासनको विषय बनाउने र संसदको विशेष अधिवेशन पुनः माग गर्नेलगायतका कडा कदम चाल्ने निश्कर्ष लिकाले । ओलीसंग चिढिएपनि राष्ट्रपतिसंग समदुरीमा रहेका नेताहरू अहिले भने राष्ट्रपतिसंग पनि चिढिए ।

प्रचण्ड-नेपाल समुहका पछिल्ला कदम कडा हुने भेउ पाएपछि प्रधानमन्त्री ओली थप झस्किए । एकातिर राष्ट्रपति समेत संकटमा पर्ने र अर्कातिर विपक्षी दलले समेत आफूविरोधी समुहलाई सघाउने लक्षण देखेपछि ओली थप सशंकित बने ।

८३ जना सांसदको हस्ताक्षर बोकेर नेताहरू राष्ट्रपति कार्यालय धाएपछि प्रधानमन्त्री ओलीमात्र होइन उनलाई साथ दिएका नेताहरूको पनि टेकेको धरातल भासिएको महसुस गरेका छन् । आफूनिकट केहि नेताहरूले बहुमतको समर्थन तपाईंलाई नै छ भन्दा मख्ख परेका ओलीले संसदीय दलमा आफ्नो बहुमत नभएको भेउ पाएका छन् । त्यतिमात्र होइन यो भेउ पाउँदासम्म धेरै ढिला भएको समेत उनको निष्कर्ष छ ।

शुक्रबार शीतलनिवास पुगेर राष्ट्रपतिसंग छलफल गर्दा समेत अबका कदममा साथ पाउने अवस्था नभएको आंकलन गरेका छन् । शीतलनिवास स्रोतका अनुसार प्रचण्डसँग मिलेर अघि बढ्न र उनलाई प्रधानमन्त्री दिएरै भए पनि एउटा पद नछोड्ने अवस्था सृजना गर्न सुझाव आएको थियो ।

अबका कदममा ओलीले आफ्नो गुट र शीतलनिवासको समेत साथ नपाउने सम्भावना रहेको समेत प्रष्ट भएको छ ।

शनिबार खुमलटारमै पुगेर प्रचण्डले आफूमाथि लगाएको आरोपपत्रहरु फिर्ता गराउने प्रयत्न गरेका छन् । यसमा पनि प्रचण्ड कन्भिन्स भने भएनन् बरू प्रचण्डले अब सबैकुरा बैठकमै हुने बताएका छन् । यस्तो अवस्थामा अब प्रधानमन्त्री ओलीले कस्तो कदम चाल्छन भन्ने चासोको बिषय बनेको छ ।