सकिबको चौतर्फी तारिफ - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

सकिबको चौतर्फी तारिफ



एजेन्सी— सकिब अल हसनले सानदार अलराउन्ड प्रदर्शन गर्दै सोमबार अफगानिस्तानमाथि ६२ रनको विजय दिलाएपछि बंगलादेशको विश्वकप क्रिकेटको सेमिफाइनल पुग्ने आशामा ठूलो बल मिलेको छ ।

सकिबले ५१ रन बनाउँदै बसालेको जगमा बंगलादेशले २६२–७ को स्कोर बनायो । यही प्रयासमा उनी विश्वकपको उच्च स्कोररमा अगाडि आए । त्यसपछि ३२ वर्षे सकिबले एकदिवसीयमा आफ्नो खेलजीवनको उत्कृष्ट बलिङ गर्नेक्रममा १० ओभरमा २९ रन खर्चेर ५ विकेट लिए ।

विश्वकपको एकै खेलमा अर्धशतक बनाउने र ५ विकेट लिने सकिब केवल दोस्रो खेलाडी हुन् । सन् २०११ को विश्वकपमा भारतका युवराज सिंहले आयरल्यान्डसँग यसअघि यो कीर्तिमान बनाएका थिए । एकै विश्वकपमा शतक बनाउने र ५ विकेट लिने तीन खेलाडीमा सकिब, युवराज र भारतकै कपिल देव छन् । सकिबले यस विश्वकपमा दुई शतक बनाइसकेका छन् ।

दक्षिण अफ्रिका र वेस्ट इन्डिजलाई पनि पराजित गरेको बंगलादेश १० राष्ट्रसम्मिलित प्रतियोगिताको अंकतालिकामा पाँचौं स्थानमा छ । शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान पाउने छ । मासरफी मोर्टजाको टोलीले भारत र पाकिस्तानसँग खेल्ने बाँकी छ । अफगानिस्तानसँगै दक्षिण अफ्रिका यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ । अफगानिस्तानले सबै ७ खेलमा पराजय बेहोरेको छ ।

रहमत शाह र गुलबदिन नैबले पहिलो विकेटमा ४९ रन जोडे पनि अफगानिस्तान ४७ ओभरमा २ सय रनमै अलआउट भयो । कप्तान नैबले ४७ रन बनाए । समिउल्लाह सेनबारी ४९ रनमा अविजित रहे । बंगलादेशबाट सकिबबाहेक मुस्फिकर रहिमले ८३ रन बनाएका थिए ।